प्रदेश ४ मा प्रदेशसभा सञ्चालनको लागि सर्वदलीय बैठक सम्पन्‍न

पोखरा- प्रदेश नं. ४ को माघ २२ गते बस्ने संसदको पहिलो अधिवेशनको तयारीस्वरुप शनिबार सर्बदलीय बैठक सम्पन्न भएको छ। उक्त बैठकले २२ गतेको कार्यक्रमको खाका बनाएको छ।

यसअनुसार बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्र सभामुखले बाचन गरेर सुनाउने छन्।

लगत्तै प्रदेश सभा संचालन को अन्तरिम कार्यविधि पारित हुनेछ। बैठकले सभामुखको अनुपस्थितिमा अर्को सभामुख र उपसभामुखको निर्बाचन नहुँदासम्म संसद सञ्चालनका लागि अध्यक्षमण्डल पनि बनाउने निर्णय भएको छ। यसअनुसार दलहरुबाट एक एक जनाको उपस्थिति रहने छ।

अध्यक्षमण्डलमा को को रहने भन्ने बिषय दलहरुबाट प्रतिनिधित्व गर्नेको नाम प्राप्त भएपछि टुंगो लगाइने सहजीकरणका लागि आएका सहसचिब जिबराज बुढाथोकीले जानकारी दिए।

२२ गते नै सभामुख र उपसभामुखको निर्बाचनको मिति भने नतोकिने बुढाथोकीले बताए। प्रदेश सभाको दोस्रो र तेस्रो बैठक क्रमश: फागुन ३ गते र फागुन ६ गते बस्ने गरी तयारीसमेत अघि बढेको बैठकमा सहभागी एमाले सांसद पृथ्वी सुब्बा गुरुङले बताए। उनका अनुसार पहिलो ऐतिहासिक बैठक सहज रुपले सञ्चालन गर्ने गरी वातावरण तयार भएको छ।

सर्वदलीय बैठकमा ठूला तीन दलबाट २/२ जना र बाँकी २ वटा दलका १/१ सांसद सहभागी थिए। बैठकमा एमालेका मुख्यमन्त्रीका दाबेदार पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ सहभागी थिए।

पृथ्वी लमजुङको प्रदेशसभा (ख) बाट विजयी भएका हुन् भने किरण तनहूँ २ (ख) बाट विजयी सांसद हुन्। उता काँग्रेसका तर्फबाट नवलपुर १ (क) का कृष्णचन्द्र नेपाली र कास्की २ (ख) बाट निर्वाचित सांसद बिन्दु कुमार थापा उपस्थित थिए।

माओबादी केन्द्रबाट तनहुँ क्षेत्र नम्बर १ (ख) का सांसद हरिबहादुर चुमान र पर्वतको प्रदेश सभा (क) का सांसद नेत्रनारायण अधिकारी, १ प्रतिनिधि पाएको नयाँ शक्तिका गोरखा २ (क) का निर्वाचित सांसद हरिशरण आचार्य र राष्ट्रिय जनमोर्चाका बागलुङका कृष्ण थापा सहभागी थिए।

माघ २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्