यी हुन् देशका उत्कृष्ट सामुदायिक र निजी विद्यालयहरु!

निजी विद्यालयतर्फ उत्कृष्ट विद्यालयको पुरस्कार उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको हातबाट ग्रहण गर्दै बालकल्याण विद्या मन्दिरका प्रिन्सिपल रविन दाहाल। साथमा शिक्षाराज्यमन्त्री शेषनाथ अधिकारी र शिक्षा सचिव मधु रेग्मी। तस्बिर: देशसञ्चार

काठमाडौँ- सरकारले आइतबार देशका उत्कृष्ट सामुदायिक तथा निजी विद्यालयलाई पुरस्कार प्रदान गरेको छ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा भदौं २३ गते नै प्रदान गर्नुपर्ने पुरस्कार शिक्षामन्त्री गोपालमान श्रेष्ठले आइतबार प्रमाणपत्रसहित प्रदान गर्नुभएको हो।

उत्कृष्ट विद्यालय छनोट निष्पक्ष नभएको भन्दै अदालतमा मुद्दा परेपछि पाँच महिला ढिलो गरी प्रदान गरिएको हो।

सरकारले काठमाडौं त्रिपुरेश्वरमा रहेको श्री विश्व निकेतन माध्यमिक विद्यालयलाई यस वर्षको उत्कृष्ट सामुदायिक उच्च माध्यामिक विद्यालयतर्फको पुरस्कार प्रदान गरेको छ।

त्यस्तै कक्षा १० सम्मको उत्कृष्ट माध्यमिक विद्यालयको उपाधि रुपन्देही बुटवलको कालिका माध्यमिक विद्यालयले पाएको छ। दुवै विद्यालयलाई दुई लाख नगदसहित शिल्ड प्रदान गरिएको छ।

शिक्षा मन्त्रालयले सातवटै प्रदेशका उत्कृष्ट माध्यमिक तहसम्मका सामुदायिक विद्यालयलाई पनि पुरस्कार प्रदान गरेको छ।

एक लाख राशीको यो पुरस्कार प्रदेश १ बाट ओखलढुंगा रामपुरको वरुणेश्वर माध्यमिक विद्यालय, प्रदेश २ बाट रौतहट सन्तपुरमा रहेको ओम माध्यामिक विद्यालय, प्रदेश ३ बाट चितवनको नारायणी मोडल माध्यामिक विद्यालय, प्रदेश ४ बाट कास्की नदीपुरको बालमन्दिर माध्यामिक विद्यालयले पाएको छ। त्यस्तै प्रदेश ५ को उत्कष्ट सामुदायिक माध्यामिक विद्यालयको पुरस्कार बुटवलको श्रीकान्ति माध्यामिक विद्यालय, प्रदेश ६ बाट कालिकोटको मस्टो सरस्वती माध्यमिक विद्यालय र प्रदेश ७ बाट डोटी उच्चकोटको सीताराम माध्यमिकलाई प्रदान गरिएको छ ।

एक लाख राशीको दुर्गम क्षेत्रको उत्कृष्ट विद्यालयको उपातिध हुम्ला यलवाङ्गमा रहेको महाबुद्ध माध्यामिक विद्यालयले पाएको छ।

निजीतर्फका उत्कृष्ट विद्यालयहरु

संस्थागत विद्यालयतर्फ दुई लाख राशीको उत्कृष्ट उच्च माविको पुरस्कार बागबजारको मोडेल माध्यामिक विद्यालयले पाएको छ।

माध्यमिक तहसम्मको निजी उत्कृष्ट विद्यालयको पुरस्कार विराटनगरको श्री बालकल्यण विद्या मन्दिरले पाएको छ। यसले दुई लाख राशीको उत्कृष्ट माध्यामिक विद्यालयको पुरस्कार पाएको हो।

त्यस्तै सातैप्रदेशका उत्कृष्ट माध्यामिक तहसम्का संस्थागत विद्यालयलाई पनि एक लाख पुरस्कार प्रदान गरिएको छ। शिक्षा मन्त्रालकाअनुसार प्रदेश १ बाट विराटनगरको एभरेस्ट इङ्लिस बोर्डिङ स्कुल, प्रदेश २ बाट रौतहट चन्द्रनिगाहपुरको मुनलाइट एकेडेमी, प्रदेश ३ बाट ललितपुरको जेम्म माध्यमिक विद्यालय, प्रदेश ४ बाट पर्वतको नमुना माध्यमिक बोर्डिङ शिवालयले पाएका छन्। त्यस्तै प्रदेश ५ को उत्कृष्ट निजी माध्यमिक विद्यालयको पुस्कार कोहलपरको गोरखा युनाइटेड पब्लिक स्कुल, प्रदेश ६ को सुर्खेतको छिन्चुमा रहेको इङ्गलिस बोर्डिङ स्कुल र प्रदेश ७ बाट कञ्चनपुर महेन्द्रनगरको इन्टरनेसनल पब्लिक स्कुलले एक लाख पुरस्कार पाएका छन्।

प्राविधिक माध्यामिक विद्यालयको पुरस्कार बुटवलको कालिका माध्यामिक विद्यालयले पाएको छ।

माघ २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्