लालबाबु राउत

जनकपुरधाम – प्रदेश नम्बर २ मा मोहम्मद लालबाबु राउत गद्दी मुख्यमन्त्री बन्दैछन् । संघीय समाजवादी फोरमको प्रदेशसभा संसदीय दलका नेता रहेका राउतले माघ २७ गते फोरम र राजपाबिच मिलेर सरकार बनाउने सहमति भएपछि मुख्यमन्त्रीको पद पाउने भएका छन् ।

फोरमले मुख्यमन्त्री, उपसभामुख र तीन मन्त्रालय पाउने हुँदा मुख्यमन्त्रीमा मो. लालबाबु राउतलाई नै सर्वसम्मत चयन गरिएको छ । यता राजपाको भागमा सभामुख र तीन मन्त्रालय परेको छ ।

लालबाबु राउतको परिचय

प्रदेश नम्बर २ को मुख्यमन्त्री बन्न लागेका मो. लालबाबु राउतको पूरा नाम मोहम्मद लालबाबु राउत गद्दी हो । पर्सा जिल्लाको क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित राउतको जन्म २०२३ साल असार १५ गते भएको हो ।

राउत पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ निवासी हुन् । हाल वीरगञ्ज महानगर–१३ तेजारथ टोलमा बसिरहेका मो. राउतले अंग्रेजीमा एम.ए. र कानुन तिर एलएलबी गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका राउत पढाइपछि अस्थायी प्राध्यापकका रुपमा ठाकुरराम बहुमुखी क्याम्पसमा १० वर्ष अध्यापन समेत गरेका छन् । उनले तत्कालीन वीरगञ्ज नगरपालिकामा १५ वर्ष काम समेत गरेका छन् । उनले २०७० सालको संविधानसभा निर्वाचनअघि जागिर छाडेका थिए ।

राजनीतिक यात्रा

किसान परिवारमा जन्मिएका राउतको राजनीतिक यात्रा विद्यार्थीकाल देखी नै सुरु भएको हो । प्रारम्भमा नेविसंघ हुँदै कांग्रेसमा प्रवेश गरेका मो. राउत २०५८ साल देखि फोरमका सक्रिय छन् ।

गैरसरकारी संस्थाका रुपमा २०५७ सालमा फोरम स्थापना भएदेखि अध्यक्ष उपेन्द्र यादवलाई सक्रिय रुपमा सघाएका राउतले मधेस आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए । भने उनले २०७० सालदेखि फोरममा उपाध्यक्षको पद सम्हाल्दै आएका थिए ।

दोस्रो संविधानसभामा समानुपातिक सभासद बनेका उनी मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशसभामा झरेका थिए । र पर्सा १ ‘ख’ मा प्रतिद्वन्द्वी विजय सरार्फलाई ३ हजार भन्दा बढी मतले पराजित गर्दै विजयी भएका थिए ।

माघ २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्