हजार्ड चम्किए, हारको शृङ्खला तोड्यो चेल्सीले

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा जित निकाल्दै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ब्रोमलाई ३–० ले हराएको हो ।

चेल्सीको जितमा इडन हजार्डले दुई तथा विक्टर मोसिसले एक गोल गरे । यो खेलमा आर्सनलबाट आएका ओलिभर जिरउडले पनि खेलेका थिए । २५ औँ मिनेटमा हजार्डको पहिलो गोलबाट चेल्सीले पहिलो हाफमा १–० को अग्रता लियो ।

६३ औँ मिनेटमा मोसिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ७१ औँ मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सी ३–० ले विजयी भयो ।

यसअघिका खेलमा बोर्नमाउथ र वाट्फोर्डसँग पराजित भएको चेल्सीलाई वेष्ट ब्रोममाथिको जितले राहत दिएको छ । चेल्सीले लिगमा सन् २०१८ मा घरेलु मैदानमा पहिलो जित दर्ता गरेको हो ।

जितपछि चौथो स्थानमा उक्लिएको चेल्सीको २७ खेलबाट ५३ अंक भएको छ । पाँचौँ स्थानमा झरेको टोटनह्यामको ५२ अंक छ । पुछारमा रहेको वेष्ट ब्रोमको २० अंक मात्रै छ ।

फाल्गुन १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्