माओवादीको कार्यक्रममा किन सहभागी भएनन् एकैजना एमाले नेता?

काठमाडौँ- पार्टी एकीकरणको संघारमा पुगेको वाम गठबन्धनले दाबी गरिरहेका बेला नेकपा माओवादी केन्द्रद्धारा आयोजित जनयुद्ध दिवसको विशेष कार्यक्रमलाई गठबन्धनको मुख्य साझेदार नेकपा एमालेका नेताहरुले सहभागी हुन अस्वीकार गरेका छन्।

कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीदेखि कुनै पनि शीर्ष नेताहरु सहभागी भएनन्। एमाले र माओवादीबीच सशस्त्र विद्रोहलाई जनयुद्ध या जनक्रान्तिमध्ये के मान्ने भन्नेमा सुरुदेखि नै विवाद रहँदै आएको छ।

एमालेले कुनै बेला त्यसलाई आतकंवाद भन्नुका साथै संविधानमा जनयुद्धको रुपमा दर्ता गर्न अस्वीकार गरेको थियो। अहिले एकता प्रयास भइरहे पनि उक्त ऐतिहासिक पृष्ठभूमिका कारण एमाले नेताहरु उक्त कार्यक्रममा सामेल नभएको बुझिएको छ।

माओवादी दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताले मात्रै सम्बोधन गरे।

जनयुद्धले मुलुक परिवर्तनका लागि ठूलो भूमिका खेलेको भन्दै माओवादीले दिवसका अवसरमा विशेष कार्यक्रम गरेको थियो।

एमाले नेताहरुले पार्टी एकीकरणका लागि जनयुद्ध स्वीकार गरेको बताए पनि त्यो व्यवहारमा नदेखिएको मोओवादीका एक शीर्ष नेताले बताए।

फाल्गुन १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्