कोहलीको कप्तानीमा भारतले रच्यो इतिहास, जित्यो श्रृङ्खला

भारत दक्षिण अफ्रिकामा भएको एकदीय क्रिकेट श्रृङ्खला आफ्नो पोल्टामा पार्न सफल भएको छ । ६ एक दिवसीय श्रृङ्खला अन्तर्गत मंगलबार भएको पाँचौँ खेलमा ७३ रनको जित निकाल्दै भारतले श्रृङ्खला आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

योसँगै भारतले दक्षिण अफ्रिकाको मैदानमा पहिलो पटक श्रृङ्खला जित्न सफल भएको छ । यो जितले भारतलाई आइसिसीको एक दिवसीय र्‍याङ्किङमा पहिलो नम्बरमा ल्याएको छ ।

दक्षिण अफ्रिका पछि धकेलिएको छ । अहिले भारत टेस्ट तथा एक दिवसीय दुवैको र्‍याङ्किङमा पहिलो नम्बरमा छ । विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोलीले धेरै उतारचढाव देखेको छ । तर उसले दक्षिण अफ्रिका विरुद्ध जित्दै इतिहास भने रचेको छ ।

मंगलबार भएको पाँचौँ एक दिवसीयमा भारतले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा २७४ रन बनायो । उसका लागि रोहित शर्माले १२६ बलमा ११ चौका र ४ छक्काको मद्दतमा ११५ रनको योगदान दिए ।

यस्तै कप्तान कोहलीले ५४ बलमा ३६, शीखर धवनले २३ बलमा ३४, श्रेयस आय्यरले ३७ बलमा ३० तथा भुवनेश्वर कुमारले २० बलमा नटआउट १९ रनको योगदान दिए । दक्षिण अफ्रिकाका लिंगी एनगिडीले चार विकेट लिए ।

२७५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको घरेलु टोली दक्षिण अफ्रिकाले ४२ ओभर दुई बलमा सबै विकेट गुमाएर मात्रै २०१ रन बनायो ।

उसका लागि हासिम अमलाले ७१, हेनरिक क्लासेनले ३९ तथा डेविड मिलरले ३६ रनको योगदान दिए पनि हार टार्न सकेनन् । भारतका कूलदीप यादवले चार तथा युजवेन्द्र चहल र हार्दिक पाण्डेयले दुई दुई विकेट लिए ।

यो जितसँगै भारतले ६ एक दिवसीयको श्रृङ्खलामा जित्न निश्चित गर्दै ४–१ को अग्रता लिएको छ । भारतले पहिलो, दोस्रो र तेस्रो एक दिवसीय पनि जितेको थियो ।

चौथो एक दिवसीयमा भने दक्षिण अफ्रिका विजयी भएको थियो । दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतले अब एउटा एक दिवसीय खेल खेल्न बाँकी छ । यस्तै तीन ट्वेन्टी–ट्वेन्टी श्रृङ्खला पनि हुनेछ ।

फाल्गुन २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्