माघ महिनामा लक्ष्यभन्दा ७ अर्ब कम राजस्व उठ्यो

काठमाडौं- माघ महिनामा सरकारले लक्ष्य भन्दा ७ अर्ब रुपैयाँ कम राजस्व उठाएको छ।
सरकारले माघ महिनामा ५२ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ४५ अर्ब रुपैयाँ मात्रै सङ्कलन गर्न सक्यो।
माघ मसान्तसम्ममा समग्र लक्ष्यमा सरकार लक्ष्यभन्दा ६ अर्ब रुपैयाँले पछाडि छ।
अर्थ मन्त्रालयको प्रारम्भिक तथ्यांक अनुसार ३ खर्ब ८६ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको सरकारले माघ मसान्तसम्ममा ३ अर्ब ८० करोड रुपैयाँ राजस्व उठाएको हो।
माघ मसान्तसम्म आन्तरिक राजस्व विभागको लक्ष्य १ खर्ब ५६ अर्ब रुपैयाँ रहेकोमा विभागले १ खर्ब ५१ अर्ब रुपैयाँ सङ्कलन गर्न सक्यो।
समान अवधिमा भन्सार विभागको लक्ष्य १ खर्ब ७५ अर्ब रुपैयाँ रहेकोमा विभागले १ खर्ब ६७ अर्ब रुपैयाँमात्र सङ्कलन गरेको छ।
यस्तै जग्गा रजिष्ट्रेस शुल्कमा ११ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको सरकारले माघ मसान्तसम्म ८ अर्ब रुपैयाँ सङ्कलन गर्न सक्यो।
अर्थ स्रोतले भन्यो, ‘गैर कर लक्ष्य बढी उठेकाले मात्रै हामी लक्ष्य भन्दा ६ अर्बले पछाडि रहेका हौँ।’
सरकारले पुस महिनामा लक्ष्य भन्दा १० अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन गरे पछि पुस मसान्तसम्ममा लक्ष्य भन्दा १ अर्ब रुपैयाँ बढी राजश्व उठाउन सकेको थियो।
यस अघि मन्त्रालयले असोज, कार्तिक र मंसिरमा पनि लक्ष्य भन्दा कम राजश्व सङ्कलन गरेको थियो।