आजदेखि प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय भलिबल: हौसला बढाउँदै कप्तानहरु

टीम क्याप्टेनसँग मिस नेपाल। तस्बिर: देशसञ्चार

नेपालगञ्ज– पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलमा सहभागी भएका टिमका कप्तानहरुले प्रतियोगिता उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका छन्।

प्रतियोगिताअघि भएको पत्रकार सम्मेलनमा नेपाल पुलिस क्लबकी कप्तान कोपिला उप्रेतीले प्रधानमन्त्री कप उचाल्न उत्साहित रहेको बताइन्।

आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले प्रतियोगिताले महिला भलिबलको माध्यमबाट नेपालगञ्जको कला संस्कृति, धर्म र समुदायलाई एकतामा बाँध्न भूमिका खेलेको बताए। उनले भने, ‘प्रतियोगितामा हरेक वर्ष स्तरीय खेलाडीले भाग लिइरहेको छन्। यस वर्षदेखि बंगलादेश टिमको सहभागिताले हामीलाई उत्साही बनाएको छ।’

बंगलादेशको इफान ग्रुप महिला भलिबल टोलीकी कप्तान लाकी खातुनले प्रतियोगितामा नेपाली खेलाडीसँग खेल्न पाउनुलाई अवसरको रुपमा लिएको बताइन्। उनले भनिन्, ‘मलाई र मेरो टिमलाई यहाँ आउन पाउँदा खुसी लागेको छ। हामी आफ्नो खेल र क्षमताको विकास गर्ने कोसिस गरिरहेका छौं।’

आयोजक न्यु इन्द्रेणी बागेश्वरी स्पोर्टिङकी कप्तान शर्मिला नेपालीले हरेक वर्ष आफुभन्दा सिनियर दिदीसँग खेल्न पाउनु उत्कृष्ट अवसर भएको बताइन्। उनले भनिन्, ‘हामीले दिदीको खेल हेरेर आफनो खेललाई सुधार गर्ने कोसिस गछौं। घरेलु मैदानमा यस्तो प्रतियोगिता हुँदा हामीलाई आफनो खेलको विकास गर्नु पर्छ भन्ने लाग्छ।’

देहरादुनकी कप्तान कृति थापाले प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाउन सहयोग गरिरहेको बताइन्। उनले भनिन्, ‘मैले दोस्रो पटक प्रतियोगिता खेल्दैछु। प्रतियोगिता खेल्नका लागि हामी उत्साही हुने गरेको छौँ। अझ नेपाल हाम्रो लागि रोजाइमा पर्ने गर्छ।’

बिहीबारदेखि नेपालगञ्ज रंगशालामा हुने प्रतियोगितामा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल, आयोजक टिम, बिदेशी टिममा बंगलादेश र भारत देहरादुतको टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता फागुनको ७ गतेसम्म चल्नेछ। लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको उद्घाटनलाई भब्य बनाउन हामीले विशेष तयारी गरिएको छ। प्रतियोगिताको उद्घाटनमा विभिन्न जातजातिको प्रस्तुति,  र्‍याली, स्थानीय धर्म, संस्कृति झल्किने प्रस्तुति देखाउने तयारी भइरहेको छ।

यस वर्षदेखि प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस होम मिडियाको एक्सन स्पोर्टस् र पश्चिम नेपालको लोकप्रिय रेडियो कृष्णसारले प्रत्यक्ष प्रसारण गर्नेछ।

‘अहिले हामी प्रतियोगितालाई नेपालको नम्बर एक प्रतियोगिता बनाउने अभियानमा एक चरण माथि पुगिसकेको छौं। यसले हामी आयोजक टिमलाई उत्साही बनाएको छ। अझ प्रतियोगितालाई नेपालगञ्ज शैक्षिक संस्था, उद्योग, ब्यापारी, सामाजिक अगुवा मिडियाकर्मीको साथ र सहयोगले हामी प्रतियोगिता आगामी वर्ष दक्षिण एसियाली स्तरको प्रतियोगिता बनाउने अभियानमा लाग्नु पर्ने दबाब बढिरहेको छ,’ ठकुरीले भने।

सम्बन्धित समाचार 

प्रधानमन्त्री कपमा न्यू डायमण्ड र एपिएफ विजयी

फाल्गुन २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्