सुरु भयो १५ दिने १३३ किमी लामो मिथिला मध्यमा परिक्रमा

मिथिला परिक्रमाका लागि निस्केका तीर्थयात्री। तस्बिर: देशसञ्चार
जनकपुरधाम- १५ दिने मिथिला मध्यमा परिक्रमा बुधबार सुरु भएको छ।
फागुन कृष्णपक्षको औंसीदेखि शुरु हुने मिथिला मध्यमा परिक्रमामा सहभागी हुन हजारौँ श्रद्धालु जनकपुर पुगिसकेका छन्। मिथिलाको महाकुम्भ मानिएको मिथिला मध्यमा परिक्रमाको पहिलो दिन श्रद्धालुहरुले जनकपुरको हनुमानगढीमा विश्राम गर्छन्।
यस्तै, दोस्रो दिन प्रतिपदा तिथिमा भारतको कल्ना पुगेर श्रद्धालुहरुले विश्राम गरेपछि परिक्रमाको औपचारिक शुरुवात हुन्छ। १५ दिने मिथिला मध्यमा परिक्रमामा नेपाल र भारतका श्रद्धालुहरु समेत सहभागी हुन्छन्। परिक्रमामा सहभागी हुँदा १०८ तिर्थ बराबरको फल प्राप्त हुने जनविश्वासले हजारौँ परिक्रमामा सहभागी हुन्छन्।
मिथिला बिहारी(रामजानकी) को डोलासँगै श्रद्धालुले गर्ने परिक्रमामा नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटरसहित कुल १ सय ३३ किलोमिटरको यात्रा गरिन्छ।
१५ दिनमा १५ स्थानमा विश्राम
१ सय ३३ किलोेमिटरको मिथिला मध्यमा परिक्रमा १५ दिनको हुन्छ, भने १५ दिनमा १५ स्थानमा श्रद्धालुले राति वास बस्छन्। पहिलो दिन धनुषाको ठेराकचुरीबाट मिथिला विहारीको डोला लिएर निस्केका श्रद्धालुहरु जनकपुरको हनुमानगढीमा भेला भएपछि राति विश्राम गर्छन्।
भोलिपल्ट हनुमाननगरबाट १३ किलोमिटर उत्तरपूर्वी क्षेत्रमा पर्ने भारतको कलाणेश्वर पुगेपछि परिक्रमाको औपचारिक शुरुवात मानिन्छ।
कलाणेश्वर विश्रामपछि दोस्रो दिन भारतकै गिरिजा स्थानमा परिक्रमा सहभागीले बास बस्छन्। यस्तै परिक्रमाको तेस्रो दिन र नेपालको दोस्रो स्थानमा महोत्तरीको मटिहानीमा विश्राम गर्दै तेस्रो स्थानमा जलेश्वर, चौथोमा मड़ै तथा पाँचौ स्थानमा ध्रुवकुण्डमा परिक्रमाका यात्रीले विश्राम गर्छन्।
छैटौँ कञ्चनवनमा विश्राम गर्दै यात्रीहरुले होली खेल्ने परम्परा छ। त्रेतायुगमा भगवान रामसीताले कञ्चनवनमा होली खेलेको जनविश्वासका आधारमा परिक्रमा सहभागीले होली खेल्छन्।
महोतरीको कञ्चनवनमा होली खेल्दै सातौँ दिन धनुषा प्रवेशसँगै क्षिरेश्वर नाथ महादेवको दर्शन सहित श्रद्धालुहरु पर्वतामा विश्राम गर्छन्। यस्तै आठौँं स्थानमा धनुषाधाम, नवौँ स्थानमा सतोषर हुँदै दशौँं स्थानमा औरही, एघारौँमा करुणा, बाह्रौँं स्थानमा भारतको बिसौल पुगेर यात्रीहरु बास बस्छन्।
बिसौल विश्रामको भोलिपल्ट तेह्रौँ दिन कलाणेश्वर पुगेपछी परिक्रमा पूर्ण हुन्छ। अन्त्यमा जनकपुर पुग्दै मिथिला विहारीको डोला र किशोरीजीको डोला १५ किलोमिटर भित्र रहेको जनकपुरको परिक्रमा गर्दै घर फर्कने परम्परा छ। र, होली खेल्दै परिक्रमाको अन्त्य हुन्छ।
परिक्रमाको प्रारम्भ
परिक्रमाको प्रारम्भको इतिहास कुनै पुस्तकमा उल्लेख नरहे पनि भगवान गणेशद्वारा तीन भुवनको परिक्रमाको क्रममा पार्वती र महादेवको परिक्रमा गरिएको जनविश्वास छ र यही जनविश्वासका आधरामा मिथिलाञ्चलमा पर्ने महादेव मन्दिर तथा शिवालयको परिक्रमा गर्ने गरिन्छ। मध्यमा परिक्रमालाई एउटा उत्सवको रुपमा मनाइन्छ। यस परिक्रमामा खासरगरी आफ्नो अराध्यदेव र देवी तथा पूण्यभूमिको यात्रा गरिन्छ।
मिथिला परिक्रमाको पहिलो दिन तीर्थयात्रीहरु। तस्बिर: देशसञ्चार
फाल्गुन २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्