रियल मड्रिडले जित्यो, रोनाल्डोको दुई गोल

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा साबिक विजेता रियल मिड्रडले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई ३–१ ले हराएको हो ।

रियल मड्रिडलाई महत्वपूर्ण जित दिलाउन रोनाल्डोले दुई तथा मार्सेलोले एक गोल गरे । पिएसजीका लागि एड्रियन राबिओटले एक गोल फर्काए । ३३ औँ मिनेटमा राबिओटको गोलबाट पिएसजीले सुरुवाति अग्रता लियो ।

सुरुमा पछि परेको रियल मड्रिडले त्यसपछि तीन गोल गर्‍यो । ४५ औँ मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै पहिलो हाफमा १–१ को बराबरी गरे । खेलको ८० औँ मिनेटसम्म १–१ को बराबरी भएको खेलमा रियल मड्रिडले अन्तिमको सात मिनेटमा थप दुई गोल गर्‍यो ।

८३ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि मार्को एसेन्सिओको पासमा मार्सेलोले गोल गरेपछि रियल मड्रिड ३–१ ले विजयी भयो । रोनाल्डोले च्याम्पियन्स लिगमा एउटै क्लबबाट एक सय गोल गरेका छन् ।

रोनाल्डोले पिएसजीसँगको खेलमा गरेको दुई गोलसँगै उनले रियल मड्रिडबाट च्याम्पियन्स लिगमा १०१ गोल गरेका छन् । विश्वका महंगा खेलाडी नेइमार रहेको पिएसजीको रक्षापंक्ति कमजोर हुँदा पहिलो लेगमा पराजित हुन बाध्य भयो ।

जिदानलाई राहत

दुई वर्षअघि टिम समस्यामा रहेका बेला जिनेदिन जिदानले रियल मड्रिडको बागडोर सम्हाले । ला लिगामा समस्या पर्दै गएका बेला क्लबले राफायल बेनिटेजलाई हटाएर आफ्ना पूर्व खेलाडी जिदानलाई जिम्मेवारी दियो ।

जिदानले क्लबको बागडोर राम्रोसँग सम्हालेनन् मात्रै लिगामा राम्रै गराए । च्याम्पियन्स लिगको उपाधि दिलाए । दोस्रो सिजन अर्थात गएको सिजन उनले क्लबलाई ला लिगासँगै लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधिको बाटो देखाए ।

तर यो सिजन उनी समस्यामा परे । क्लबलाई दुई वर्षअघि समस्याबाट बाहिर ल्याउने जिदानसँगै क्लब पनि समस्यामा थियो । रियल मड्रिड अहिले ला लिगामा तेस्रो स्थानमा छ र त्यो भन्दा डरलाग्दो शीर्ष स्थानको बार्सिलोना भन्दा १६ अंकले पछि छ ।

कोपा डेल रेको क्वाटरफाइनलबाटै बाहिरीएको रियल मड्रिडको यो सिजन उपाधि आश अब च्याम्पियन्स लिग फुटबलमा मात्रै अडिएको छ । तर त्यसमा पनि अरुलाई तुलनात्मक रुपमा सहज प्रतिस्पर्धी पर्दा रियल मड्रिडले कडा प्रतिस्पर्धी पाएको छ, पेरिस सेन्ट–जर्मेन (पिएसजी) ।

त्यो पनि अन्तिम १६ मै । तर रियल मड्रिडले बुधबार राति च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा पिएसजीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दा जिदानले कला देखाए । सुरुमा पछि परेर पनि ३–१ को जित निकाल्यो ।

ला लिगामा राम्रो प्रदर्शन गर्न संघर्षरत स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले पनि यो खेलमा उत्कृष्ट प्रदर्शन गरे र आफू लयमा फर्किएको संकेत दिएका छन् । रोनाल्डोको ह्याट्रिकमा रियल सोसिडाडलाई रियल मड्रिडले चार दिनअघि भएको खेलमा ५–२ ले हरायो ।

तर यो जितले रियलको उत्साह बढाए पनि चुनौती भने बढी थियो पिएसजीसँगको खेलमा । तर चुनौतीलाई चिरेर जित निकाल्दै जिदाले आफ्नो जागिर जोगाउने सम्भावना बढाए ।

यो चुनौती जितको हो भने यस्तै चुनौती छ प्रशिक्षक जिदान र स्ट्राइकर रोनाल्डोसहितका खेलाडीमा । पिएसजीसँगको खेल रियलका लागि सिजनको उपाधि आश जोगाउने र जिदानलाई जागिर जोगाउने एक मात्र माध्यम हो ।

रियल मड्रिड र पिएसजी योसँगै ७ पटक एक अर्कासँग प्रतिस्पर्धा गरेका छन् । त्यसमा रियल मड्रिडले तीन तथा पिएसजीले दुई खेल जितेको छ । दुई खेलमा बराबरी भएको छ ।

फाल्गुन ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्