प्रदेश नं. ५ : मुख्यमन्त्रीको शपथ आज, केसी र चौधरीले मन्त्री बन्दै

बुटवल – प्रदेश नम्बर ५ का मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार हुँदैछ ।

दिउँसो ३ बजे प्रदेश प्रमुखको निजी सचिवालयको हातामा मुख्यमन्त्रीमा नियुक्त शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले शपथ गराउने छन् ।

शपथ कार्यक्रमका लागि नेपाली सेनाले मञ्च व्यवस्थापन गरिसकेको छ । पोखरेलसँगै एमाले र माओवादी केन्द्रका एक एक जनाले शपथ लिने छन् ।

एमालेबाट वैजनाथ चौधरी र माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले शपथ लिने तयारी छ ।

केसीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्ने छन् भने चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्ने टुंगो लागेको एमाले मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

पोखरेलले शपथ ग्रहणपछि बिहीबार नै पदभार ग्रहण गर्नेछन् । पदभार ग्रहण अघि मन्त्रिपरिषद बैठक बस्ने र पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको प्रमुख सचिव शंकर पाठकले जानकारी दिए । पदभार ग्रहणपछि मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

फाल्गुन ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्