‘सात नम्बरलाई भारतमा भर नपर्ने प्रदेश बनाउँछु’

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नियुक्त पत्र लिँदै। तस्बिर-दीपकराज जोशी/देश सञ्‍चार

कैलाली-प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन्।

प्रदेश प्रमुख मोहनराज मल्लले आज भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री नियुक्त भएको पत्र बुझ्‍न भट्ट प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए।

यसअघि हिजो प्रदेश प्रमुखले मुख्य मन्त्रीमा नियुक्त हुन बहुमत रहेको दावी पेश गर्न आग्रह गरेपछि भट्टले बामबठबन्धनका बहुमत ३७ जना सदस्यको आफुलाई समर्थन रहेको भन्दै दावीपत्र पेश गरेका थिए।

सोही बमोजिम संबिधानको धारा १ सय ६८ को उपधारा २ अनुसार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो। आज मुख्यमन्त्रीमा नियुक्त भएका भट्टलाई शनिवार अपरान्ह ३ बजे सपथ खुवाईने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

को हुन त्रिलोचन भट्ट ?

प्रदेश नम्बर ७ को मुख्यमन्त्री बनेका माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट कुनै बेला भारतको मुम्बईमा चौकीदारी गरेका व्यक्ति हुन्।

कमजोर आयश्रोत भएको परिवारमा जन्मेका त्रीलोचन, आर्थिक अभावकै कारण ८ कक्षाको पढाई छोडेर १४ बर्षमै भारत पसेका थिए। उनले त्यहाँ एक सामान्य नेपालीले गर्ने चौकीदारी लगायतका काम गरेका थिए।

भारतमै रहदा उनले २०४७ सालबाट अखिल भारत नेपाल एकता समाजको सदस्यबाट राजनिति सुरु गरेका थिए। माओवादी युद्धको तयारी तथा प्रवासबाट गरिने बिभिन्न ब्यबस्थापकीय काममा सहयोग गरेका भट्ट २०५६ सालबाट माओवादी पार्टीको पुर्णकालिन राजनितिमा लागेका थिए।

२०६१ सालमा पार्टीले उनलाई नेपाल बोलाउने निर्णय गरेको थियो। नेपाल फर्किएर भूमिगत भएर काम गर्न थालेका भट्ट २०६४ मा डोटी जिल्ला इन्चार्ज, हुदै २०७१ देखि नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रहेका छन्।

२०६४ र २०७० सालमा भएको संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नं २ बाट चुनाव लडेका भट्ट दुबै निर्वाचनमा पराजित भएका थिए। यसपटक बाम गठवन्धनको तर्फबाट डोटी प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली
कांग्रेसका उम्मेदबार योगेन्द्र शाहीलाई २७ सय भोट अन्तरले हराउदै उनि बिजयी भएका थिए।

भारतमा चौकीदारी गर्न जान नपर्ने प्रदेश बनाउछु

प्रदेश ७ को मुख्यमन्त्रीमा नियुक्त भएसंगै नेता त्रिलोचन भट्टले अब यहाँका जनताले भारतमा चौकीदारी गर्न जान नपर्ने प्रदेश बनाउने अठोट व्यक्त गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएको पत्र बुझे लगत्तै संवाददाताहरुसंग बोल्दै उनले यस्तो बताएका हुन्।

‘प्रदेश नम्बर ७ का अधिकांस जनता अहिले पनि रोजगारीका लागि भारत जाने गरेका छन् भारतमा नेपालीले गर्ने दुःखको अनुभव मलाई छ, म यहाँका जनताका छोराले अब भारतमा चौकीदारी गर्न जान नपर्ने प्रदेश बनाउने अठोट व्यक्त गर्दछु।’ उनले भने।

भट्टले अहिले आफ्नो पहिलो प्राथमिकता संघियताको जग बसाउनमा केन्द्रीत रहने बताए। नेपालमा पहिलो पटक संघियता लागु भईरहेको बताउँदै उनले यसलाई सफल पार्नु सबैको दाईत्व हुने बताए। उनले जलश्रोत कृषि र पर्यटनको सम्भावना उजागर गरे मात्रै प्रदेश ७ सम्वृद्ध र धनी प्रदेश बन्ने भएकोले प्रदेश सरकारले त्यसमा ध्यान दिने बताए।

फाल्गुन ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्