एक प्रदेशको मन्त्रालय मिलेर चलाउँछौ-उपसभामुख पोखरेल

प्रदेश नम्बर एकको उप-सभामुख सरस्वती कुमारी पोखरेल। तस्बिर-देश सञ्‍चार

मोरङ-प्रदेश नम्बर एकको उप-सभामुख सरस्वती कुमारी पोखरेलले संघीयता कार्यान्वयन पक्षमा आफ्नो भूमिका महत्वपूर्ण रहने बताएकी छिन्।

विराटनगरस्थित संसद भवनमा बिहीबार उप सभामुखको पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै उनले भनिन् ‘ प्रदेश एकमा पर्यटन र विकासको अथाह सम्भावनाहरु छ। अब संघीय सरकारले यसको खोज र पहिचान गरी आर्थिक विकास गर्नेतर्फ लाग्‍नु पर्छ।’

उनले संघीयतालाई सहज रुपमा कार्यान्वयन गराउन सबै मिलेर अगाड बढ्‍नु पर्नेमा जोड दिँदै प्रदेशमा देखिएको मन्त्रालयको भागबण्डा चाँडै टुङगिने बताइन्। उनले भनिन्, ‘ हामी सबै मिलेर काम गर्ने हो । त्‍यसकारण प्रदेश सरकारका लागि मन्त्रालयको पनि मिलेर भागबण्डा मिलेर टुंगो लगाउँछौ।’

उनका अनुसार मन्त्रालय भागवण्डामामा केन्द्रले आर्थिक मामिला मन्त्रालय, गृह तथा भौतिक मन्त्रालयमा दाबी गरिरहेकोछ।

संसद भवनमा सभामुख प्रदीपकुमार भण्डारीले रामकुमार राईको प्रस्ताव र इन्द्रमणि पराजुलीको समर्थकमा उपसभामुखमा सरस्वती कुमारी पोखरेल निर्विरोध भएको घोषणा गरेका थिए।

त्यसलगत्तै संसद भवनबाहिर सभामुख भण्डारीले उपसभामुख पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए। यससँगै प्रदेशसभाको अर्को बैठक फाल्गुन १४ गते बस्ने सभामुख भण्डारीले घोषणा गरे।

प्युठानमा जन्मिएकी उपसभामुख पोखरेल माओवादी केन्द्र सुनसरी जिल्लाको संयोजक हुन्।

२०४६ सालमा विद्यार्थी राजनीतिमा होमिएकी पोखरेलले २०५८ सालदेखि तत्कालिन माओवादी पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा सक्रिय रहेकी थिइन्।

पोलिटब्युरो सदस्य पोखरेल समानुपातिकतर्फबाट प्रदेशसभासदस्यमा चयन भएकी हुन्।

फाल्गुन ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्