सुर्खेत-प्रदेश नम्बर ६ को मुख्यमन्त्री पदका लागि एमालेले आफ्नो अडान कायम राखेको छ।

विगतदेखि नै प्रदेशको मुख्यमन्त्री एमालेले पाउनुपर्ने अडान राख्दै आएको एमालेले माओवादी केन्द्रलाई समर्थन गरेको छैन् ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिन भित्रमा मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुनुपर्ने संवैधानिक व्यवस्था छ।

यही व्यवस्था अनुसार विहीवार ३० दिन पुग्दैछ। तर, प्रदेश ६ मा भने एमाले माओवादीबीच मुख्यमन्त्री चयनका लागि सहमति हुन नसक्दा वाम गठबन्धनबीच किचलो फेरि सुरु भएको छ।

नेकपा एमाले र माओवादी केन्द्रका आआफ्नै अडानका कारण मुख्यमन्त्री चयनमा कठिनाई भएको हो। एमाले र माओवादी बीच केन्द्रमा भएको सहमति अनुसार प्रदेश ६ मा माओवादी केन्द्रले मुख्यमन्त्री पाउनुपर्ने हो। तर, एमालले भने अलोपालो सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव अगाडी सारेको छ । जसले गर्दा मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेशसमेत हुन सकेको छैन।

गठबन्धनको सहमति अनुसार सभामुख निर्वाचित गरेको एमालेले मुख्यमन्त्री माओवादीलाई नदिने दावी गरेको छ। एमालेले प्रदेश सरकारको नेतृत्व आलोपालो हुनुपर्ने, मन्त्रालयको भागवण्डा र अन्य विषयमा सहमति नमिलेपछि मुख्यमन्त्री चयनको प्रक्रियामा लम्बिएको हो।

प्रदेश सभामा २० जना अथवा ५० प्रतिशत प्रतिनिधित्व गरेको एमालेले मुख्यमन्त्रीका लागि समर्थन नगर्दा प्रदेश प्रमुखसमक्षा मुख्यमन्त्रीको दावी पेश भएको छैन्। माओवादीले संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीका लागि दावी गर्ने तयारी गरेपनि एमालेका सांसदहरुले हस्ताक्षर नगरेपछि उक्त दाबी पेश हुन नसकेको हो।

एमालेका सांसदहरुलाई हस्ताक्षर गराउने प्रयास भने सफल हुन नसकेको माओवादीले जनाएको छ । माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीका अनुसार गठबन्धनबीच मुख्यमन्त्रीका लागि छलफल जारी छ । मुख्यमन्त्री माओवादीको भागमा परे पनि एमालेका नेता र प्रदेश सांसदहरुले आफैले सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै आएका छन्।

यो प्रदेशमा एमालेबाहेक सरकार गठनका लागि बहुमत नै पुग्दैन। पार्टी केन्द्रको निर्देशन अनुसार नै आफूहरु अगाडी बढ्ने एमाले नेताहरुको भनाइ छ। गठबन्धनका बीच बारम्बार भएका छलफल र वार्ताबाट पनि कुनै निकास नआएपछि मुख्यमन्त्री चयनबारे छलफल गर्न माओवादी केन्द्र प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत सुर्खेत आएका छन्।

दुवैपार्टी बीच मुख्यमन्त्रीको दावी नपरेपछि भोलि (शुक्रबार) नै प्रदेश प्रमुख राजबहादुर शाहीले संवैधानिक अधिकारको प्रयोग गर्दै प्रदेशसभाको सबैभन्दा ठूलो दलबाट मुख्यमन्त्री तोक्ने छन्।

फाल्गुन ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्