नेत्रनाथ अधिकारी प्रदेश-४ को सभामुख, उपसभामुखको निर्वाचन ६ गते

प्रदेश नम्बर ४ को प्रदेशसभाको बैठकले विहीबार अनुमोदन गरेपछि हर्षित भएका सभामुख नेत्रनाथ अधिकारी। तस्बिर- जमुना बर्षा शर्मा/देश सञ्‍चार

कास्की-प्रदेश नम्बर ४ बाट निर्विरोध निर्वाचित भएका सभामुख नेत्रनाथ अधिकारीलाई प्रदेशसभाको बैठकले विहीबार अनुमोदन गरेको छ।

उनलाई जेष्ठ सदस्य जनकलाल श्रेष्ठले सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्।

माओवादीका संसदीय दलका नेता तथा सांसद हरिबहादुर चुमानको प्रश्तावलाई एमाले प्रदेश ४ का संयोजक तथा निर्वाचित प्रदेशसभा सांसद किरण गुरुङले समर्थन गरेपछि जेष्ठ सदस्य जनकलाल श्रेष्ठले अधिकारीलाई सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्।

बुधबार भएको मनोनयन दर्तामा अधिकारीको मात्रै उम्मेदवारी परेपछि विहिबारको बैठकले निर्विरोध निर्वाचित गरेको हो। अधिकारीलाई माओबादी र एमालेका ३९ सांसदको समर्थन थियो।

प्रदेशसभा बैठकमा जेष्ठ सदस्यले प्रदेश प्रमुखबाट प्राप्त मुख्यमन्त्री नियुक्तीको पत्र पढेर सुनाएपछि ताली बजाएर त्यसको समर्थन गरेका थिए।

सभामुख र मुख्यमन्त्रीलाई शुक्रबार विहान १० बजे प्रदेश प्रमुखको निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ। बैठकले उपसभामुखको चुनाव फागुन ६ गते गर्ने निर्णय गरेको छ।

फाल्गुन ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्