ओलीको आगमनले नेप्सेमा ठूलो छलाङ, बन्ला फेरि नयाँ रेकर्ड?

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई सेयर बजारले हृदयदेखि स्वागत गरेको छ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएकै दिन नेप्से परिसूचक ३६.०१ अंकले बढ्यो। बिहीबार कारोबार भएका १६५ कम्पनी मध्ये १० कम्पनी बाहेकको मूल्य उकालो लागेको छ।

श्री इन्भेस्टमेन्ट फाइनान्स धेरै मूल्य बढ्ने कम्पनी बन्दा एनएमबी सुलभ फण्ड-१ धेरै घट्ने कम्पनी बन्यो। बिहीबार श्री र अरुण हाइड्रोपावरको मूल्य करिब १० प्रतिशतले बढ्यो।

यस्तै एनएमबी सुलभ फण्ड-१ को मूल्य करिब ४ प्रतिशतले ओरालो लागेको हो।

नेप्से परिसूचकमा बिहीबारको वृद्धि लामो समय देखिएको हो। नेप्से परिसूचक बुधबारको तुलनामा २.५९ प्रतिशतले उकालो लाग्दा कारोबार रकममा पनि ठुलो वृद्धि भयो।

विगत २ महिना देखि २५-३० करोड रुपैयाँ हाराहारीमा कारोबार हुने गरेकोमा बिहिबार ६६ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

एक मर्चेण्ट बैंकरले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा पनि अर्थतन्त्रका आधारभूत बिषयमा तत्काल परिवर्तन नहुने हुदाँ आजको बजारको वृद्धि टिक्छ भनेर भन्न सकिदैन।

उनले भने, ‘लामो समय देखि देखिएको अन्योल प्रधानमन्त्रीको नियुक्तिले अन्त्य भएकाले बजार बढेको हुनु पर्छ।’

उनी भन्छन्, बजारमा सिद्धान्त भन्दा पनि सेन्टिमेन्टले काम गर्छ र लामो समय देखि बजार ओरालो लागिरहेकाले पनि आजको वृद्धिलाई बजार करेक्सन भएको पनि मान्न सकिन्छ।

गत असोजमा भएको बाम गठबन्धन पछि निरन्तर सेयर बजार ओरालो लाग्न थाले पछि केपी ओलीले कम्युनिष्टबारे गलत हल्ला चलाएर सेयर बजार घटाएको बताएका थिए।

ओलीले सेयर बजारलाई चासो दिएर बोलिरहेका छन्, ओली प्रधानमन्त्री हुँदा नेप्से परिसूचक उच्च बिन्दुमा पनि पुगेको थियो त्यसैले पनि ओलीबाट सेयर लगानीकर्ताले धेरै ठुलो अपेक्षा गरेका हुन्, एक ब्रोकरले भने।

२०७३ साउन १२ मा ओली प्रधानमन्त्री भएका बखत नेप्से परिसूचक अहिले सम्मकै उच्च १८८१ अंकमा पुगेको थियो।

उनले सेयर बजारका बारेका बोलेका बिषयलाई कार्यान्वयन गर्ने हो भने आज सेयर बजारको भएको वृद्धि सुरुवात भएको बताए।

उनले भने, ‘सम्पति सुद्धिकरण बिषयमा केपी ओलीले बोलेको कुरा सैधान्तिक भन्दा पनि व्याबहारिक छ।’ उनको सरकारले कर नतिरेर लुकाईएको रकमलाई करको दायरामा ल्याई बजारमा ल्याउन सक्ने हो भने सेयर बजारमा पनि लगानी प्रवाह बढ्ने छ।

साताको अन्तिम कारोबार दिन कारोबार भएका १० उपसूचक मध्ये सबैभन्दा धेरै विकास बैंक ३.५३ प्रतिशत र अन्य उपसूचक करिब १ प्रतिशतले उकालो लागेको छ।

फाल्गुन ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्