राजनीतिक ‘सोकेस’मा लालबाबु र थममाया

नवनियुक्त मन्त्रीहरु लालबाबु पण्डित र थममाया थापा। तस्बिर: आरजु

प्रधानमन्त्री ओलीको स्वच्छ छवि रणनीति

काठमाडौँ- नेकपा माओवादी केन्द्र सरकारमा तत्कालै भित्रन नमानेपछि केही खिन्न भएका नवनियुक्त प्रधानमन्त्री केपी ओलीले सरकारको स्वच्छ छवि प्रदर्शन रणनीति सुरुमै अपनाएका छन्।

विभिन्न अनुमानविपरित राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पद तथा गोपनीयताको सपथ लिए लगत्तै प्रधानमन्त्री ओलीले लालबाबु पण्डित तथा थममाया थापा मगरलाई मन्त्री बनाएर त्यस्तो रणनीतिक सन्देश दिएका हुन्।

अष्टलक्ष्मी शाक्यलाई प्रदेश तीनको मुख्यमन्त्री नबनाउँदा महिला विरोधी भएको आरोप खेपिरहेका ओलीले म्याग्दीकी सांसद एवं एमाले पोलिटव्युरो सदस्य थममाया थापा मगरलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी दिएका छन्।

महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापा। तस्बिर- आरजू/देश सञ्‍चार

सपथ लगत्तै थापा मगरले आफूले महिला सशक्तीकरणका लागि वर्षौदेखि संघर्ष गर्दै आएको र अब त्यसलाई अझ दृढताकासाथ निरन्तरता दिने ठाउँ पाएको बताइन्।

नेपाल महिला संघकी महासचिवसमेत रहेकी उनले आफूले मन्त्री बन्नकै लागि राजनीति नगरेको तर निश्वार्थकर्मले आज यहाँसम्म ल्याएको बताइन्।

यस्तै ओलीले सामान्य प्रशासन मन्त्री हुँदा सुशासन कायम गर्न तथा प्रशासनिक अनियमितता रोक्न सक्रियताका साथ लागिपरेका मोरङ ६ का सासद लालबाबु पण्डिलाई जनसंख्या तथा वातावरणमन्त्री बनाएका छन्।

पण्डितले पनि आफू निरन्तर अनियमितता र भ्रष्टचार विरुद्ध निडर भएर लागिरहने र शासनमा विज्ञहरुको राय परामर्शलाई प्राथमिकता दिने बताए।

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित शीतल निवासमा सपथपछि। तस्बिर- आरजू/देश सञ्‍चार

पण्डित आफ्नो राजनीतिककर्म क्षेत्र मधेसमा मात्र होइन्, मुलुकभरि नै इमान्दारी र स्वच्छ छवि भएका नेता मानिन्छन्।

एमाले वृतमा पहिलो चरणमा पार्टी महासचिव ईश्वर पोखरेल र नेता प्रदीप ज्ञवालाई मन्त्री बनाउने चर्चा चलेपनि माओवादीले तत्काल सरकारमा नजाने र बाहिरबाटै समर्थन दिने रणनीति अपनाएपछि ओलीले पार्टीका ‘हेभीवेट’लाई तत्कालका लागि बाहिर राखेको बुझिएको छ।

ओलीको सपथ लगत्तै थापा र पण्डितलाई मन्त्रीका रुपमा सपथ लिन बोलाइएपछि त्यसले त्यहाँ उपस्थितहरु आश्चर्यमा परेका थिए । दुवैलाई प्रधानमन्त्रीको सपथ कार्यक्रममा सहभागी हुन बोलाइएको थियो। तर उनीहरुलाई मन्त्री बनाइने कुनै संकेत दिइएको थिएन।

फाल्गुन ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्