संघीयतामा साहित्य क्षेत्रलाई कसरी अघि बढाउने भन्नेबारे छलफल

काठमाडौँ- मुलुक संघीयतामा गइसकेको अवस्थामा अब साहित्यिक क्षेत्रलाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा विराटनगरमा साहित्यकारहरुबीच छलफल सुरु भएको छ।

दुई दिनसम्म चल्ने संघीयतामा साहित्यको अवस्था विषयक छलफलमा सात प्रदेशका साहित्यकारहरुमा भेला भएका छन्। नेपाल प्राज्ञ प्रतिष्ठानसँगको सहकार्यमा सुरु भएको यस भेलामा सात प्रदेशबाट सहभागी भएका सहित्यकारहरुले प्रदेश अनुरुप कार्यपत्र प्रस्तुत गरेका छन्।

नेपाल लेखक संघद्वारा आयोजित भेलामा प्रदेश नम्बर १का संयोजक प्राज्ञ विवश पोखरेलले प्रदेश नम्बर १ मा भाषा र साहित्यको स्थितिबारे प्रकाश पारेका थिए। त्यसैगरी प्रदेश नम्बर २ का संयोजक गोपाल अश्कले ‘प्रदेशको संघीय अवस्थिति र अबको आवश्यकता’, ४ का संयोजक डा. कुशुमाकर न्यौपानेले ‘४ नम्बर प्रदेशको भाषा तथा साहित्य’, ५ नम्बरका उत्तमकृष्ण मजगैयाले ‘५ नम्बर प्रदेशको संक्षिप्त साहित्य चिनारी’, ६ का संयोजक मोतीराम बमले ‘भाषा साहित्यमा प्रदेश ६ हिजो र आज’ र ७ का संयोजक रामलाल जोशीले ‘सुदूरपश्चिममा साहित्यको विधागत विकासको अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

त्यस्तै विचार प्रस्तुतिसत्रमा वरिष्ठ साहित्यकार गोविन्दराज भट्टराईले लेखक स्वतन्त्रता र डा. टंक न्यौपानेले १ नम्बर प्रदेशको मातृभाषा र संस्कृतिको अवस्था विषयमा बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गरेका थिए।

लेखक संघका केन्द्रीय महासचिव रत्नमणि नेपालले सांगठानिक अवधारणापत्र प्रस्तुत गर्दै संघलाई सबै जिल्लामा विस्तार गर्ने जानकारी दिए।

यस क्रममा हालसम्म मुलुकको ५५ भन्दा बढी जिल्लामा संगठन विस्तार भइसकेको उनले स्पस्ट पारे।

कार्यक्रममा साहित्यकार कृष्ण प्रधान र नवराज पुडासैनीलाई सम्मान गरिएको थियो।

उद्घाटन समारोहमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, भाषाशास्त्री बालकृष्ण पोखरेल, कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर महानगरका मेयर भीम पराजुली, वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई, दधिराज सुवेदीलगायतले भाषा साहित्यको विकासका लागि प्रज्ञा प्रतिष्ठानलाई पनि संघीयता ढाँचामा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

शनिबार सम्पन्न हुने यस सम्मेलनमा प्रदेशः भाषा साहित्य, वृहत कवि सम्मेलन, विचार गोष्ठी, नाटक मञ्चनलगायतका कार्यक्रम समावेश गरिएको संघका मोरङ सचिव मीनकुमार नवोदितले जानकारी दिए।

फाल्गुन ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्