साता भरमा ३४ अंकले बढ्यो परिसूचक, नेप्सेमा ६८ लाख कित्ता नयाँ सेयर सूचीकृत

काठमाडौं- लामो समय देखि ओरालो लागिरहेको नेप्से परिसूचक यस साता ३३.९५ अंकले उकालो लागेको छ।

केपी ओली प्रधानमन्त्रीमा भएकै दिन परिसूचक ३६ अंकले बढे पछि यस साता बजार उकालो लागेको हो।

साताको चार दिन खुलेको सेयर बजारमा १ सय ७९ कम्पनीको ३७ लाख ९२ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो।

मंगलबार शिवरात्रिको सार्वजनिक बिदा परे पछि सेयर कारोबार भएको थिएन।

बजार उकालो लाग्दा साताभरमा एक अर्ब ५४ करोड रुपैयाँ बराबर कारोबार भयो। बजार उकालो लाग्दा पनि कारोबार रकममा गत साता भन्दा ०.६२ प्रतिशतले गिरावट आएको छ।

साताभरमा प्रभु बैंक धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो। प्रभुको ६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

यस साता नेप्सेमा ६८ लाख कित्ता नयाँ सेयर सूचीकृत भएको छ जसमा सपोर्ट माइक्रो फाइनान्सको ६ लाख कित्ता, जेविल्स फाइनान्सको २८ लाख ८९ हजार कित्ता, ओरियन्टल होटलको १४ लाख २५ हजार कित्ता र गुहेश्वरी मर्चेन्टको १९ लाख ७३ हजार कित्ता छ।

फाल्गुन ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्