कांग्रेस एकलौटी रुपमा चलाउने कसैले नसोचे हुन्छ: शेखर

नेविसंघको कार्यक्रम। तस्बिर: देशसञ्चार

विराटनगर- नेपाल विद्यार्थी संघको प्रदेश नम्बर एकस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रम शुक्रबार मोरङमा सुरु भएको छ।

मोरङको सुन्दरहरैंचास्थित विराटचौकमा सुरु भएको कार्यक्रममा केन्द्रीय तहका शीर्ष नेताले विद्यार्थी संगठनलाई चलायमान बनाउन आवश्यक्ता रहेको बताएका छन्।

प्रशिक्षण भेला उद्घाटनका क्रममा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसलाई अब समयसापेक्ष ढंगबाट अघि बढाउने समय आएको बताए। उनले भने, ‘पार्टीलाई बलियो बनाउन भातृसंघसंगठनको भूमिका अहम रहन्छ। त्यसैले यी संंघहरुलाई पुनःजागरण गर्दै चलायमान बनाउनुपर्ने आवश्यक्ता छ।’

पछिल्लो समय पार्टीमा हावी भएको एकपक्षीय भूमिकाप्रति आक्रोश ब्यक्त गर्दै उनले भने, ‘कांग्रेस विधिको शासनमा चल्छ। यसलाई कसैले एकलौटी रुपमा चलाउन नखोजे हुन्छ। यदि त्यो भए, समग्र पार्टीलाई नै त्यसको असर पुग्नेछ।’

त्यसैगरी बढ्दै गएको गुट उपगुटले समग्र पार्टीलाई नोक्सानी पुराउने बताएका युवानेता एवं केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीलाई मजबुत र बलियो बनाउन पार्टी भित्र एकताको आवश्यक्ता रहेको बताए। पार्टी नेतृत्वमा बढ्दो असमझदारी न्यून गर्नु आवश्यक भएको स्पष्ट पार्दै भण्डारीले भने, ‘हालको असन्तुष्टिले भावी भविष्यलाई असर पार्दछ। त्यसैले सबै जना समयमै सजग हुनुपर्छ।’

कार्यक्रममा सहभागी डा. शेखर कोइराला। तस्बिर: देशसञ्चार

निर्वाचनमा भएको असफलताप्रति तिक्तता व्यक्त गर्दै भण्डारीले ‘चुनावमा पराजय भोग्दैमा कांग्रेस विचलित नहुने बरु मुलुकको सम्बृद्धि र जनताको हितमा कांग्रेसले काम गर्नेछ।’

कार्यक्रममा केन्द्रीय सदस्य धनराज गुरुङले नया सोचलाई उजागर गर्दै समयसापेक्ष रुपमा कांग्रेसलाई अघि बढाउन नेविसंघको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए। शनिबार सम्पन्न हुने प्रशिक्षण भेलाम गुरुराज घिमिरे, प्रदीप पौडेल, प्रदेश सभासदस्य केदार कार्की, विन्दिया कार्कीको पनि उपस्थिति थियो।

त्यसैगरी शनिबार हुने कार्यक्रममा नेता भण्डारीले लोकतन्त्र र समाजवाद, नेता गुरुङले संगठनको वर्तमान परिस्थिति र नेतृत्वको विषयमा प्रशिक्षण दिनेछन्। त्यसैगरी अर्का युवा नेता घिमिरेले नेविसंघको इतिहास, वर्तमान र भविष्यका विषयमा प्रशिक्षण दिनेछन्।

प्रशिक्षण भेलामा प्रदेश नम्बर एकमा रहेका नेविसंघका करिब ४ सय जना नेता कार्यकर्ताले प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउने नेविसंघ सह महामन्त्री कृष्ण कार्कीले जानकारी दिएका छन्।

फाल्गुन ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्