पोखरीहरुको सौन्दर्यता र सरसफाइको लागि २ अर्बको बजेट

जनकपुरधाम-जनकपुरको पोखरीहरुलाई हराभरा बनाउन र सरसफाईको लागि नयाँ योजना लागू गर्ने सम्झौता भएको छ।

नेपाल सरकारको खानेपानी तथा सरसफाई मन्त्रालयको सहलगानीमा खानेपानी तथा ढल निकास विभाग, नगर विकास कोष र जनकपुर उपमहानगरपालिकाबीच दुई अर्बको योजनामा सम्झौता भएको छ।

नेपाली काँग्रेसको केन्द्रीय सदस्य तथा निवर्तमान खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवको उपस्थितिमा उक्त सम्झौता माथि हस्ताक्षर भएको जनाइएको छ।

जनकपुरको पोखरी तथा नाला विकासको लागी गरिएको यस सम्झौताको विषयमा शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी गराईएको थियो।

पोखरी तथा नाला व्यवस्थापन मुख्य उदेश्य

जनकपुर परिक्रमा सडक क्षेत्र भित्रको २२ वटा पोखरीको सौन्दर्यीकरण र नाला व्यवस्थापन गर्ने मुख्य उदेश्य रहेको विकास योजनाको डीपीआर पाँच महिना भित्र तयार हुने बताइएको छ।

दुई अर्बको यस आयोजनामा ८५ प्रतिशत लगानी नेपाल सरकार र १५ प्रतिशत लगानी उपमहानगरपालिकाको तर्फबाट गर्ने समझदारी भएको निवर्तमान मन्त्री यादवले बताए।

सम्झौता अनुसार १ अर्ब ७० करोड नेपाल सरकार तथा ३० करोड उपमहानगरपालिकाले लगानी गर्ने योजना रहेको छ ।

तीन वटा पोखरीलाई जोड्ने योजना
तीन वर्ष भित्र सम्पन्‍न हुने यस आयोजना अन्तर्गत जनकपुरको धनुषसागर, गंगासागर र रामसागर पोखरीलाई पुलको माध्यमले जोड्ने योजना रहेको सम्झौतापत्रमा उल्लेख छ।

यस्तै,धार्मिक तथा सांस्कृतिक महत्वलाई यथावत राख्दै पुल प्रयोग गरेर तीनवटै पोखरीलाई पुलसँग जोड्ने योजना रहेको छ।

यता, अन्य पोखरीहरुको घाट, पार्क सहितको निर्माण कार्य गरी सौन्दर्यीकरण गर्ने लक्ष्यका साथ ल्याइएको आयोजनाको डीपीआर तैयार गर्ने जिम्मेवारी सहलगानी आयोजना व्यवस्थापन कार्यालयलाई दिइने छ भने आयोजनाक कार्यान्वयनको लागी आवश्यक जग्गा नगरपालिकाको तर्फबाट उपलब्ध गराईने सम्झौतापत्रमा उल्लेख छ।

फाल्गुन ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्