नेपालगञ्ज – २४ वटा गाई, बाछालाई शुक्रबार दिउँसो ट्रकमा लोड गरेर जंगलतिर लगिएपछि राकेश भारतीलाई राहत मिल्यो। डेढ महिनादेखि कान्जीहाउसमा थुनिएका २९ मध्ये ट्रकमा अटाएका २४ वटालाई जंगलमा लगेर छोडिएको हो।

पुस २३ गतेदेखि कान्जीहाउसमा रहेका ती छाडा पशुलाई रेखदेख गर्न भारतीलाई भ्याइनभ्याइ थियो। बिहान पराल, दिउँसो पानी र बेलुका पराल खुवाउनुका साथै सरसफाइ गराउन भारतीलाई तनाव नै थियो।

‘धेरैपटक लिखित र मौखिक जानकारी गराएपछि आज बल्ल ट्रक पठाएर छाडा पशुलाई जंगलमा लगेर छोडियो,’ भारतीले राहत महसुस गर्दै भने, ‘घरमा एउटा गाई पाल्दा त कति दुःख हुन्छ, हामीले त २९ वटा पशुलाई डेढ महिनादेखि पालेका थियौं।’

त्यसो त कान्जीहाउसमा सय वटासम्म पशु थुनिएको विगत छ।

नेपालगञ्ज बजारमा छाडा पशुको विगबिगीले ट्राफिक व्यवस्थापनमा समस्या र फोहोर बढाएपछि नगरपालिकाले छाडा पशुलाई थुन्ने र जरिवाना गराउन थालेको हो।

शुरुवाती चरणमा कसैको खेतवारीमा पशु गएपछि समातेर कान्जीहाउसमा पुर्‍याउने र नगरपालिकाले जरिवाना गर्ने गरिन्थ्यो। पछिल्ला वर्षहरुमा बजारमा छाडा पशुको बिगबिगी रहनु र नगरपालिकाले समातेर कान्जीहाउसमा थुन्दासमेत मालिकहरु लिन नआउने गरेपछि जंगलमा लगेर छोड्ने रणनीति अपनाइएको छ।

२०७३ मंसीर तीन गतेदेखि छाडा पशुलाई केही समय कान्जीहाउसमा राख्ने र मालिक लिन नआए जंगलमा लगेर छोड्ने गरिएको छ।

कान्जीहाउसका इन्चार्ज राकेश भारतीका अनुसार अहिलेसम्म मालिक लिन नआएका ७ सय २७ वटा पशुलाई जंगलमा लगेर छोडिएको छ।

बजारमा कति छाडा पशु छन्, यकिन छैन। छाडा पशुका कारण दुर्घटना बढेको ट्राफिक रिपोर्ट र स्थानीयले खबरदारी गरेपछि नगरपालिकाले प्रहरीको सहयोगमा छाडा पशुलाई नियन्त्रणमा लिएर कान्जीहाउसमा पुर्‍याउने गर्दछ।

‘दूध आफूले खाने, छाडा छोडेर असर अरुलाई पुर्‍याउने’ मालिकको नीति नै देखिन्छ।

छाडा पशु नियन्त्रण गर्न प्रहरीले विगतमा पशुमालिकलाई सार्वजनिक मुद्दासमेत लगायो। त्यसका बाबजुद छाडा पशु नियन्त्रण भएनन्।

सधैंको यो समस्या समाधान गर्न छाडा पशुलाई समातेर जंगलमा पुर्‍याउने नीति लिइएको हो। पहिला पशुहरु लिलाम हुन्थे। अहिले लिलाम हुन छोडेको छ। यहाँबाट जंगलमा लगेर छोडेका पशुले जंगल छेउछाउका किसानका अन्नमा रजाँई गरिरहेका छन्।

२०१७ सालमा नेपालगञ्ज नगरपालिका स्थापना भएसँगै कान्जीहाउसको आवश्यकता महसुस गरिएको थियो। त्यतिबेला धेरै छाडा पशु थिएनन्। तर, एउटाको पशुले अर्कोको बालीनाली खाइदिएपछि थुन्ने र जरिवाना गराउन कान्जीहाउस आवश्यक भएको थियो।

यही कुरालाई मध्यनजर गरेर तत्कालीन प्रधानपञ्च कृष्णजंग शाहले फूल्टेक्रामा कान्जीहाउस बनाउन लगाएको राकेशका बुवा राम भारतीले बताए। नेपालगञ्ज नगरपालिका वडा नं. ७ हुँदै ६ कायम भएको फूल्टेक्रा त्यतिबेला वडा नं. ११ ‘क’ थियो।

‘पहिला फूल्टेक्रा स्कूल रहेको ठाउँमा काठले बारेको कान्जीहाउस थियो, त्यतिबेला मेरो बुवा बलदेव भारतीयले काम गर्नुहुन्थ्यो, रामले भने, २०३३ सालमा अहिले रहेको ठाउँमा पक्की कान्जीहाउस बनेको हो, तबदेखि नै मैले ३५ वर्ष काम गरे ।

कान्जीहाउससँगै घर रहेको र सोझो देखेपछि बलदेवलाई चौकीदार राखिएको थियो । उनले मासिक ६५ रुपैया पाउथे । १० वर्षबढी काम गरेपछि बलदेवले छोरा रामलाई आफ्नो ठाउँमा जागीर लगाइदिए । रामको शुरुवाती तलव एक सय ५० रुपैया थियो । ३६ वर्ष काम गरेपछि रामले छोरा राकेशलाई कान्जीहाउसको जिम्मा दिएर छुट्टिएका छन् । ‘पैसाका हिसाव किताव हुन्छ । पशुको रेखदेख गर्नुपर्‍यो, जो पायो त्यही कहाँ टिक्न सक्छ, रामले भने, मेरो पालामा ठूलो पशुको जरिवाना १८ आना र सानाको १० आना थियो।’

अहिले पशु गाईको एक हजार पाँच सय, बाछाबाछीको सात सय पचास, गधा, खच्चरको तीन सय रुपैया जरिवाना तोकिएको छ ।

नगरपालिकाअन्तर्गतको कान्जीहाउसमा भारतीका तीन पुस्ताले काम गरिरहेका छन् । कान्जीहाउसमा चौविसै घण्टा खटिनु पर्छ । घर नजिकै रहेकाले भारतीलाई सजिलो भएको छ ।

सिजनमा काठमाडौं, अरुबेला नेपालगञ्ज
नेपालगञ्ज बजारमा यतिबेला गधा, खच्चर देखिएका छैनन् । शुक्रबार एक ट्रक छाडा पशुलाई कान्जीहाउसबाट जंगलतिर लगिदा गधा, खच्चर थिएनन् ।

खासमा यतिबेला कामको सिजन भएकाले गधा, खच्चर नेपालगञ्ज बजारमा छैनन् । सबै काठमाडौं, पोखरालगायतका ठाउँमा पु¥याइएका छन् । गधा, खच्चरलाई इट्टाभट्टामा काम लगाउने गरिन्छ ।

भारतबाट सहजै नेपालगञ्ज ल्याइ पुर्‍याउने गधा, खच्चरलाई सिजनमा अन्यत्र लगेर पैसा कमाउने र वर्खाका बेलामा नेपालगञ्ज बजारमा ल्याएर छाडा छोड्ने गरिन्छ ।

‘यतिबेला बजारमा गधा, खच्चर देखिदैनन्, सबै कामका लागि काठमाडौंसम्म पुर्‍याएका छन्,’  कान्जीहाउसका इन्चार्ज राकेश भारतीले भने, ‘अफसिजनमा सबै गधा, खच्चर नेपालगञ्ज बजारमा छाडा छोडिन्छ।’

गधा, खच्चरलाई काम खाने र काम नभएको बेला या रोगी, बुढाखाडा भएपछि बजारमा छोड्ने गरिन्छ। भारतबाट गधा, खच्चर नै ल्याउन नदिने हो भने बजारमा छ्याप्छ्याप्ती छाडा नहुने सम्बद्धहरु बताउँछन्।

राम्रा गाईलाई पनि स्थानीयले बडो रेखदेख गरेर पाल्ने गर्दछन्। दूध दिन छोडेपछि बजारमा छाडा छोड्ने गर्दछन्।

फाल्गुन ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्