एमालेमा दौरासुरुवाल, टोपी र सारी चोलोलाई पुनर्जीवन

एमाले पार्टी मुख्यालयमा ओली र नेम्वाङ । तस्बीर /दीपा दाहाल

काठमाडौं – नेपाली पहिचानको रुपमा अन्तर्राष्ट्रिय जगतमा समेत चिनिएको दौरासुरुवाल, टोपी र सारी चोलोलाई पुनः सम्मान दिनमा भर्खरै सत्ताको नेतृत्व गरेको नेकपा एमाले लागेको छ।

प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा शीतल निवास निम्ताइएका पार्टीका प्रत्येक सदस्यलाई दौरासुरुवाल र सारी चोलोमा आउन अध्यक्ष केपी ओली स्वमले मौखिक निर्देशन दिएर उक्त पोशाकलाई अघोषितरुपमा राष्ट्रिय पोशाकको हैसियत प्रदान गरेको संकेत दिएका छन्।

तर विडम्बना, २०६३ सालमा व्युँताइएको प्रतिनिधिसभामा एमाले नेता सुवासचन्द्र नेम्बाङले नै सभामुखको आसनबाट दौरासुरुवाल, टोपी र सारी चोलोको राष्ट्रिय पोशाकको हैसियत खोसेका थिए।

त्यसपछि पनि एमालेले अरु पार्टीको तुलनामा यी पोशाकहरुलाई विशेष समारोहमा अपनाइनै रह्यो।

पहिलो संविधानसभाको उद्घाटन सत्रमा समेत एमालेका सांसदहरु मात्र विना अपवाद दौरा सुरुवाल, टोपी र सारी चोलोमा उपस्थित थिए, जबकी सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादीका पुरुष तथा महिला सासदहरु सफारी सुटमा सजिएका थिए।

राष्ट्रियता र प्रजातन्त्रलाई मुख्य सैद्धान्तिक मान्यताकारुपमा प्रस्तुत गर्दै आएको नेपाली कांग्रेस पहिरनमा छयासमिसेरुपमा प्रस्तुत भएको थियो, जुन परम्परा कांग्रेस भित्र कायमै छ।

माओवादीबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल तथा बाबुराम भट्टराई र एक दुई अपवाद बाहेक मन्त्री बनेकाहरुले दौरासुरुवालसँगै ढाका टोपीको अघोषित बहिस्कार गर्दै आएका छन्, यद्धपी विदेस भ्रमणमा भादगाउँले टोपीलाई उनीहरले आफ्नो सिरमा स्थान दिएको पाइन्छ।

माओवादीबाट दौरासुरुवाल र टोपीलाई ग्रहण गर्नेमा अपवाद बनेका नेताहरुमा लेखराज भट्ट, टोपबहादुर रायमाझी पर्छन् भने अहिले प्रदेश नम्बर ६ को मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही पनि त्यो अल्पसंख्यामा मिसिन आएका छन्।

शुक्रबार सपथ लिदा उनी दौरासुरुवाल र ढाका टोपीमा प्रदेश प्रमुख समक्ष उपस्थित थिए। पहिले उर्जामन्त्रीको रुपमा सपथ खाँदा उनी कोट पाइन्टमा थिए।

तर यो पोशाकको महत्वबारे मौखिकरुपमै भएपनि निर्देशन मात्र एमालेले जारी गरेको हो।

आफू प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै पार्टी मुख्यालय धुमबाराही पुगेका ओलीले त्यहाँ जिल्लाबाट समेत एकत्रित सांसदहरुलाई लामो प्रवचन दिए मर्यादित पोशाकको पक्षमा। उनको स्पष्ट संकेत र पक्षधरता दौरासुरुवाल, टोपी र सारी चोलोतर्फ थियो ।

‘पहिरनले पनि मानिसको आचरण झल्काउँछ । त्यसमाथि पनि हामी जनप्रतिनिधि हौं । पोशाकका आधारमा जनताले हाम्रो मुल्याङन गर्छन् । त्यसैले हामीले मर्यादत पोशाक लगाउनुपर्छ । अबदेखिका हरेक बैठकहरुमा पुरुषले दौरासुरुवाल र महिलाले सारी चोलो लगाएर आउनुहोला,’ ओलीले सम्झाउँदै भने।’

त्यतिमात्र होइन, बिहीबार मन्त्रीका रुपमा सपथ खाने अपेक्षा गरिएका पार्टी महासचिव इश्वर पोखरेललाई ओलीले चिटिक्क परेर आउन भनेका थिए र पोखरेल सेतो दौरासुरुवाल, कालोकोट र ढाँका टोपीमा सजिएर शीतल निवास पुगेका थिए।

पहिलो चरणमा उनी मन्त्री बनेनन्, त्यो अर्को पक्ष हो।  अध्यक्षका रुपमा ओलीको यो निर्देशनबारे शीर्ष तहमा एक मत देखिन्थ्यो। ‘हामीलाई दौरा सरुवाल लगाउँदा पक्का नेपाली भएको आभास हुन्छ । नभए किन यस्तो समारोहमा यसरी सजिने थियौं र ?’ राष्ट्रपति निवासमा सेतो दौरासुरुवालमा पुगेका नेकपा एमालेका नेता माधव कुमार नेपालले मुसुस्क हाँदै भने ।

एमालेकै पृष्ठभूमिबाट आएकी राष्ट्रपति विधादेवी भण्डारी प्राय: सबै सभासमारोहमा ढाँकाको सारी चोलोमा सजिएर पुग्छिन्।

राष्ट्रिय पोशाकको हैसियत खोसियता पनि स्वदेश र विदेशमा आयोजित औपचारिक या सामाजिक तथा सांस्कृतिक समारोहमा सर्वसाधारण नेपाली पनि दौरासुरुवाल, टोपी र सारी चोलोमा उपस्थित हुँने परम्परा कायमै छ।

एमालेले यो पोशाकको औपचारिक महत्व स्वीकार गरे पनि त्यसलाई राष्ट्रिय पोशाकको हैसियत दिलाउनेबारे भने कुनै संकेत दिइ सकेको छैन।

फाल्गुन ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्