पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८ हुँदै

काठमाडौं – पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८ का लागि प्रतियोगिताको पहिलो चरणको परीक्षा शनिबार देशका विभिन्न चार शहरमा हुँदैछ ।

नेपाल एस्ट्रोनोमी सोसाइटीका अनुसार विराटनगर, चितवन, काठमाडौं, पोखरा, तथा धनगढीमा सञ्चालन हुने परीक्षामा देशभरिका ३० भन्दा बढी विद्यालयका करिब ६० भन्दा विद्यार्थीको सहभागिता रहने छ ।

विद्यार्थीको सुविधाको लागि वेबसाइट www.nepalastronomicalsociety.org/olympiad मा गई आवेदन फारम तथा प्रतियोगितासम्बन्धी जानकारी पाउन सकिने समाजका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा २० वर्षभन्दा कम उमेरका १०ं जोड २ मा अध्ययनरत वा सन् २०१८ मा विश्वविद्यालय कार्यक्रममा भर्ना हुने नेपाली विद्यार्थी सहभागी हुन पाउनेछन् ।

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक राष्ट्रिय प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगिता हो । यस प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सिफारिस गरिँदै आएको छ ।

सन् २०१४ बाट सञ्चालन गरिएको यस प्रतियोगिताबाट ८०० भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परीक्षण गरिसकेका छन् भने यस कार्यक्रमले उत्कृष्ट ठहराएका विद्यार्थीहरु देश तथा विदेशमा रहेका उत्कृष्ट विश्वविद्यालयमा अध्ययनरत छन् ।

फाल्गुन ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्