प्रदेश ६ उपसभामुख पुष्पा घर्ती। तस्बिर: देशसञ्चार

सुर्खेत– माओवादी केन्द्रका सांसद पुष्पा घर्ती प्रदेश नम्बर ६ को प्रदेश उपसभामुखमा सर्वसम्मत निर्वाचित भएकी छन्। शनिबार बसेको तेस्रो प्रदेशसभा बैठकबाट उनी उपसभामुख पदमा निर्वाचित भएकी हुन्।

उपसभामुख पदका लागि घर्तीलाई प्रस्वात गर्दै प्रदेशसभा सदस्य धर्मराज रेग्मीले पार्टीगत स्वार्थबाट टाढिएरै प्रदेशको समृद्ध र विकासका लागि उपसभामुखले आफ्नु भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

यस्तै, रेग्मीको प्रस्तावलाई समर्थन गर्दै एमाले सांसद मीनासिंह रखालले राजनीतिक दलहरुबीच भएका विरोध र समर्थन भन्दा पनि प्रदेशको हितका लागि खुलेर सहयोग गर्नु आग्रह गरिन्।

रेग्मीको प्रस्ताव र रखालको समर्थन पश्चात घर्तीलाई प्रदेश सभामुख राजबहादुर शाहीले उपसभामुखमा निर्वाचित घोषणा गरेका थिए।

महिला नेतृत्वदेखि उपसभामुखसम्म
घर्ती वि.स. २०३४ साल पुस २५ गते जाजरकोटको डाँडागाउ गाविसमा (हाल नलगाड नगरपालिका–२) जन्मिएकी हुन् । बुबा लोत घर्ती र आमा भद्रकला घर्तीको एक्ली छोरी हुन् । उनका चार भाई छन् । घर्तीको शैक्षिक योग्यता टेस्ट पास हो । २०५२ साल माघमा टेस्ट परीक्षा दिएकी घर्ती फागुनदेखि जनयुद्धमा होमिएकी थिइन् ।

विस २०४८ सालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनको जिल्ला सदस्य भएकी घर्तीले २०४९ सालमा तत्कालिन मसाल पार्टीको सदस्यता लिएकी थिइन् । २०५० सालमा जाजरकोट अखिल नेपाल महिला संघको जिल्ला सचिव भएकी उनी २०५१ सालमा जिल्ला अध्यक्ष भइन् । २०५३ सालमा माओवादीको एरिया कमिटी सदस्य भएकी घर्तीले २०५४ सालमा एरिया कमिटीको सचिवको जिम्मेवारी सम्हालेकी थिइन् ।

२०५५ सालमा माओवादीको जिल्ला कमिटी सदस्य भएकी थिइन् । जनयुद्धताका संगठन विस्तार, कार्यकर्ता परिचालनलगायतको जिम्मेवारी सम्हालेकी घर्तीले २०५६ सालमा पूर्वसांसद नरबहादुर विष्टसँग वैवाहिक जीवनमा बाधिएकी थिइन् । पार्टीको जिम्मेवारी पुरा गर्दै उनले महिला संगठन दैलेखको अध्यक्षको जिम्मेवारी सम्हालिन ।

पार्टी संगठन विस्तारमा गहन भूमिका निर्वाह गरेको र क्रियाशिल कार्यकर्ताका रुपमा २०५८ सालमा उनलाई पार्टीले बडुवा गरेर क्षेत्रीय व्यूरो सदस्य बनायो । व्यूरो सदस्यको जिम्मेवारी पाएकी घर्ती जनमुक्ति सेनाको ७औं डिभिजनमा रहेर एरियाँ इन्चार्ज, बटालियन कमिसारको भूमिका निर्वाह गरिन ।

२०५९ सालमा माओवादीको जनसेनामा आवद्ध भएकी घर्ती थुप्रै पटक युद्वमा सहभागि भएकी थिइन् । उनी हाल जिल्ला इन्चार्ज छन् । ६ नम्बर प्रदेशको परिचय बल्ने गरी आवश्यक निती निर्माणमा भूमिका खेल्ने उनले बताइन् ।

फाल्गुन ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्