एमालेद्वारा सांसदहरुलाई ह्वीप जारी

एमालेकी कृष्णी थारु। तस्बिरहरु: देशसञ्चार

दाङ- नेकपा एमाले प्रदेशसभा-५ को संसदीय दलको कार्यालयले गठबन्धनबाट निर्वाचित सांसदहरुलाई आइतबार बस्ने प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ।

संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले शनिबार प्रेस विज्ञप्ति जारी गरी सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप गरेका छन्।

‘उपसभामुख चयन जस्तो महत्वपूर्ण कार्यसूची रहेको र मत विभाजनसमेत हुनसक्ने अवस्था भएकाले सांसदहरुलाई तोकिएको समयमै अनिवार्य उपस्थितिका लागि सूचित गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ।

नेता ढकालले प्रदेश पाँचका सबै जिल्लाका गठबन्धनका सांसदहरुलाई आइतबारको बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन्। आइतबार भाेलि बस्ने प्रदेशसभा बैठकले उपसभामुखको चयन गर्ने छ। उपसभामुखमा सांसद कृष्णी थारुको उम्मेदवारी परेको छ भने कांग्रेसकी सांसद रीना बिश्वकर्माकाे उम्मेदवारी दर्ता भएको छ। भाेलि दिउँसो १ बजे मत विभाजन गरी सभामुख चयन हुनेछ।

उपसभामुखमा थारू निर्वाचित हुने निश्चित जस्तै छ । ८७ सांसद रहेको संसदमा वाम गठबन्धनसँग ६१ सांसद छन् भने कांग्रेससँग १९ सांसद् छन्। संविधानको धारा १८२ को उपधारा १ बमोजिम उपसभामुखचयन हुन लागेको हो ।

फाल्गुन ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्