बार्सिलोनाको संघर्षपूर्ण जित, ८ वर्षअघिको कीर्तिमानमा बराबरी

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा चेल्सीसँगको खेलका लागि तयारीमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगामा संघर्षपूर्ण जित निकालेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एइबरलाई २–० ले हराएको हो । अवे मैदानमा भएको खेलमा लुइस स्वारेज र जोर्डी अल्बाको गोलबाट १० खेलाडीमा सीमित भएको एइबरलाई बार्सिलोनाले हराएको हो ।

१६ औँ मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलायो । लियोनल मेस्सीको सहयोगमा स्वारेजले गोल गरेका हुन् । ६६ औँ मिनेटमा फाबियान ओरियाना दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एइबर १० खेलाडीमा सीमित भयो ।

८८ औँ मिनेटमा अल्बाले गोल गरेपछि बार्सिलोना २–० ले विजयी भयो । यो सिजनका अहिलेसम्मका सबै २४ खेल तथा अघिल्लो सिजनका पछिल्ला सात खेलमा अपराजित रहेको बार्सिलोनाको लिगमा अपराजित खेल संख्या ३१ पुगेको छ ।

बार्सिलोना यसअघि सन् २०१०–११ को सिजनमा पनि ३१ खेलमा अपराजित रहेको थियो । जितपछि २४ खेलबाट ६२ अंक जोडेको बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा १० अंकले अघि रहेको छ ।

दुई खेल कम खेलेको चौथो स्थानको रियल मड्रिड बार्सिलोना भन्दा २० अंकले पछि परेको छ । शनिबार राति नै भएका अरु खेलमा मालागालाई २–१ ले हराएको भ्यालेसिन्याको २४ खेलबाट ४६ अंक भएको छ ।

यस्तै सेभिल्लाले लास पालमसलाई २–१ तथा एलाभेसले डिप्रोटिभो डी ला कोरुनालाई १–० ले हरायो । बार्सिलोनाले आउँदो मंगलबार च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा चेल्सीकै मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

फाल्गुन ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्