ओलीको नियुक्तिमा बढेको सेयर बजार किन ओरालो लाग्यो?

काठमाडौं- केपी ओली प्रधानमन्त्री भएकै दिन ३६ अंकले उकालो लागेको सेयर बजारको वृद्धि एक दिन पनि टिक्न सकेन। देउवाको राजीनामा आउने चर्चाले बुधबार ८ अंकले बढेको बजार ओलीको नियुक्ति हुँदा बिहीबार ३६ अंकले उकालो लागेको थियो।

ओलीले कालो धनलाई सहज रुपमा वैध बनाउन दिन्छन् भन्ने आशामा रहेका ब्यक्तिहरुलाई ओलीले कालो धनका बिषयमा गरेको निर्णयले निरास बनाएकाले पनि बजार घटेको एक लगानीकर्ताले बताए।

ओलीले प्रधानमन्त्री भए लगत्तै कालो धनलाई छुट दिन नसकिने निर्णय गरेका थिए।

साताको पहिलो दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको हो।

आइतबार सेयर बजार मापक नेप्से परिसूचक ११.०५ अंकले घटेर १४१३.९ अंकमा पुगेको छ।

दोहोरो अंकले ओरालो लागेको बजारमा एक सय ५९ कम्पनीको ५९ करोड ६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

बिहिबार १० कम्पनी मात्रै मूल्य घट्ने सुचीमा रहेका थिए भने आइतबार २८ कम्पनी मात्र मूल्य बढ्ने सुचीमा परे।

साताको पहिलो दिन प्रोग्रेसिभ फाइनान्स धेरै रुपैयाँ घट्ने कम्पनी बन्दा बोटलस नेपाल धेरै रुपैयाँ बढ्ने कम्पनी बन्यो। प्रोग्रेसिभको मूल्य ७.५२ प्रतिशतले ओरालो लाग्दा बोटलस नेपालको मूल्य ४.२ प्रतिशतले उकालो लाग्यो।

दोहोरो अंकले ओरालो लागेको बजारमा नेपाल इन्भेस्टमेन्ट बैंक धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो। इन्भेस्टमेन्टको २ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भयो।

आइतबार कारोबार भएका १० उपसूचक मध्ये उत्पादनमुलक बाहेकका सबै उपसूचक ओरालो लागेका छन्।

‘क’ बर्गका कम्पनीको मापक परिसूचक पनि २.२ अंकले ओरालो लागेको छ।

एक ब्रोकरले भने, ‘ बजारमा बायर भन्दा सेलर बढी भएकाले पनि आज बजार घटेको हो।’

नयाँ सरकारको आर्थिक नीति स्पष्ट नहुँदा सम्म बजार बढ्न नसक्ने मर्चेण्ट बैंकर बताउँछन्।

फाल्गुन ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्