नेपाली टोली विश्वकप छनोटकै कान्छो, पारस भन्छन्– १५ वर्षे प्रगतिको प्रभाव

काठमाडौं– नेपाली क्रिकेट टोली यसै महिना जिम्बावेमा आयोजना हुने एकदिवशिय विश्वकप छनोट प्रतियोगिताकै कान्छो टोली बनेको छ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी)ले आइतबार साँझ जारी गरेको विज्ञप्ती अनुसार नेपाली टोलीका १५ सदस्यिय खेलाडीको औसत उमेर २४ वर्ष एक महिना रहेको छ।

प्रतियोगिताको सबैभन्दा बढी उमेरको टोली युएई हो जसमा रहेका खेलाडीको औसत उमेर ३१ वर्ष आठ महिना रहेको छ। दोस्रो जेठो टोली आयरल्यान्ड हो जसका खेलाडीको औसत उमेर ३० वर्ष सात महिना रहेको छ।

प्रतियोगितामा हुने १० देशका खेलाडीमध्ये सबैभन्दा कान्छा ६ खेलाडीको सुचीमा नेपालका पाँच जना रहेका छन्। नेपालका रोहित पौडेलको उमेर १५ वर्ष रहेको छ।

सन्दीप लामिछानेको १७ वर्ष, अलराउन्डर दिपेन्द्रसिंह ऐरीको १८ वर्ष र १९ वर्षका ललित राजबंशी र अनिल शाह रहेका छन्।

नामिबियामा केही दिनअघि सम्पन्न आईसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा शिर्ष दुई स्थानमा रहँदैं नेपाल सन् २०१९ मा आयोजना हुने एकदिवशिय विश्वकप क्रिकेटको विश्वस्तरको छनोट प्रतियोगितामा छानिएको हो।

विश्वकप छनोटमा चार टेस्ट राष्ट्र अफगानिस्तान, आयरल्यान्ड, वेस्ट इन्डिज र जिम्बावेसहित ६ वटा एसोसिएट राष्ट्रको सहभागिता रहने छ।
एसोसिएटमा नेपालसहित हङकङ, यूएई, नेदरल्यान्ड्स, स्कटल्यान्ड र पपुआन्युगिनी रहेका छन्। यी एसोसिएटमध्ये नेदरल्यान्ड्सबाहेकका शीर्ष तीन टोलीले आगामी चार वर्षका लागि एकदिवशिय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन्।

नेपाली टोलीका कप्तान पारस खड्काले टोलीमा युवा खेलाडीको प्रभावबारे बोल्दै पछिल्लो १५ वर्षमा नेपाली टोलीको प्रगति वर्तमान टोलीको संरचनामा देखिएको बताएका छन्।

‘ पछिल्लो १५ वर्षमा नेपालमा क्रिकेट जसरी विकाश भयो त्यसकै प्रभाव अहिले नेपाली टोलीको संरचनामा देखिन्छ’, पारसले आईसिसीसँगको कुराकानीमा भनेका छन्। आसन्न विश्वकप छनोटका लागि नेपाली टोलीमा ललित राजबंशी थपिएका छन्।

अब १५ सदस्यिय खेलाडीसहितको नेपाली टोली जिम्बावे भ्रमणमा निस्कने छ। विश्वकप छनोटको समूहगत चरणमा नेपालले जिम्बावे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङको सामना गर्ने छ।

सन् २००० देखी लगातार पाँच पटक आईसिसी यू–१९ विश्वकपम खेलेको नेपालले सन् २०१४ मा आईसिसी टीट्वेन्टी विश्वकप पनि खेलेको थियो। सिनियरअन्तर्राष्ट्रिय क्रिकेटमा यो नै नेपालको अहिलेसम्मकै सबैभन्दा ठुलो सफलता हो।

फाल्गुन ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्