सवारी दुर्घटनामा वडाध्यक्षको मृत्यु

चितवन – पूर्वी चितवनको रत्ननगरस्थित शान्तिचोकमा आइतबार बेलुका सवारी दुर्घटना हुँदा खैरेनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय विश्वविजय बस्नेतको मृत्यु भएको छ ।

दुर्घटनामा परी खैरहनी नगरपालिका वडा नं ४ का वडाध्यक्ष ४५ वर्षीय नरेन्द्र अधिकारी र खैरहनी नगरपालिका वडा नं १२ निवासी नगरपालिकाका गाडी चालक २८ वर्षीय राजकुमार अधिकारी गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जनकारीअनुसार पूर्वबाट रत्ननगरतर्फ आउँदै गरेको ना ३ च ९८४० नं को तरकारी बोकेको पिकअप भ्यानले टाँडीबजारबाट पूर्वतर्फ जाँदै गरेको खैरेनी नगरपालिकाको बा २ झ १३४४ नंको सरकारी गाडीलाई ठक्कर दिएको हो ।

घटनामा गम्भीर घाइते भएका बस्नेतको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बेलुका पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेद्वयको मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुई गाडी एकापसमा ठोक्किएपछि सोही सडकमा गुडिरहेको बा ४ ख १७४८ नम्बरको ट्रिपर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ठोक्किएर खैरेनी नगरपालिका–१ का ४५ वर्षीय साइकलयात्री रामबहादुर दराई घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

 

फाल्गुन ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्