टुँडिखेलमा ६८ औँ प्रजातन्त्र दिवसको झलक (फोटो फिचर)

६८औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्‍च टुँडिखेलमा आयोजित विशेष समारोहमा शान्तिको कामना गर्दै सेतो परेवा उडाउँदै राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश पराजुली। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौ- राष्ट्रपति विद्यादेवी भण्डारी ६८औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्‍च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिपरिषद् सदस्य, मुख्यसचिव, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो।

विज्ञापन

राष्ट्रपति भण्डारीलाई सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश पराजुलीले शान्तिको कामना गर्दै सेतो परेवा उठाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले लामो समयदेखि पर्खिएको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको सुरुवात भएको बताएका छन्।

६८ औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा भएको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा तथा राष्ट्रियसभाको चुनाव सम्पन्न भइसकेको अवस्थामा संविधानसभाबाट बनाइएको संविधानको कार्यान्वयन भएको बताउँदै अब विकासको सपना पूरा गर्ने पालो आएको बताए । त्यसका लागि राजनीतिक स्थिरता आवश्यक रहेको र अबको सरकारले त्यसलाई पूरा गर्ने उनको भनाई छ।

सोही अवसरमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो।

सोही अवसरमा नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि, तीनवटै सुरक्षा निकायबाट आकर्षक मार्चपास, उपत्यकाभित्रका विभिन्न स्थानीय तहले आ-आफ्ना सांस्कृतिक झल्किने झाँकीसमेत प्रस्तुत गरेका थिए।

साथै राष्ट्रिय खेलकूल परिषद्का खेलाडीले आकर्षक खेल प्रस्तुत एवं सुरक्षा निकायका ब्याण्ड प्रदर्शनले कार्यक्रमलाई थप आकर्षित गराएको थियो।

तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार

 

फाल्गुन ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्