डिजिटलाइजेसनको बाटो खुल्यो, अदालतले खारेज गर्‍यो अन्तरिम आदेश

काठमाडौं- टेलिभिजन प्रसारणलाई डिजिटल बनाउने सरकारी निर्णय कार्यन्वयनमा रोक लगाउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले गत मंसिरमा जारी गरेको अन्तरिम आदेशलाई खारेज गरेको छ।

सर्वोच्च अदालतका न्यायधीशद्वय चोलेन्द्रशम्शेर जबरा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले आइतबार यसअघिको जारी अन्तरिम आदेश खारेज गरेको हो।

सरकारले गत कार्तिक १५ बाट देश भरका प्रमुख सहरहरुमा एनालग माध्यमबाट प्रसारण भइरहेका टेलिभिजन बन्द गर्न सुरु गरेपछि एनालग माध्यमबाट टेलिभिजन प्रसारण गर्दै आएकाले सर्वोच्चमा रिट दायर गरेका थिए।

अदालतले रिटको सुनुवाई गर्दै तत्काल निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो। अदालतले पुरानो अन्तरिम आदेश खारेज गरेसँगै सरकारलाई राष्ट्रिय प्रसारण नियमावलीको प्रावधान कार्यान्वयन गर्न बाटो खुलेको छ।

सरकारले टेलिभिजन प्रसारणलाई डिजिटल बनाउन राष्ट्रिय प्रसारण नियमावलीलाई संसोधन गर्दै २०७४ वैशाख १५ देखि महानगरपालिका, कत्तिक १५ देखि उपमहानगरपालिका र नगरपालिकाबाट र आउँदो बैशाख १५ बाट  एनालग प्रणालीमा प्रसारण भईरहेका टेलिभिजनलाई डिजिटल प्रणाली लैजाने निर्णय गरेको छ।

डिजिटल माध्यमबाट टेलिभिजन प्रसारण गर्दै आइरहेकाहरु एनालग टेलिभिजन हटाउने कानून कार्यान्वयन नहुँदा सरकारलाई करोडौं रुपैयाँ राजश्व घाटा लागिरहेको बताउँदै आएका छन्।

डिजिटल माध्यमामा ग्राहकको सख्याँ हुने हुँदा सरकारले वास्तविक राजश्व उठाउन सक्ने सञ्चार मन्त्रालयका अधिकारी पनि स्वीकार गर्छन।

डिजिटल माध्यमबाट टेलिभिजन प्रसारण गर्दै आएको डीस मिडिया नेटवर्क महाप्रबन्धक कल्याण अधिकारीको डिजिटल प्रणाली लागू हुँदा सरकारको राजश्व बढ्नुको साथैं जनताले पनि गुणस्तरीय माध्यमबाट टेलिभिजन हेर्न पाउने तर्क छ।

उनले सरकारले अदालतको आदेशपछि इमान्दारीपूर्वक डिजिटलाईजेसनको प्रक्रिया कार्यान्वयन गर्नु पर्ने बताए।

के हो डिजिटल प्रविधि?

डिजिटल प्रविधिमा च्यानल हेर्न ग्राहकले सेटअप बक्स राख्नुपर्ने हुन्छ। विभिन्‍न प्रसारण केन्द्र र माध्यमबाट पठाइएको सिग्नललाई सेटअप बक्समा रहेको रिसिभरले रिसिभ गरेपछि टीभीमा च्यानल हेर्न सकिन्छ। नेपालमा हाल ४ प्रकारमा डिजिटल प्रसारण माध्यम रहेका छन्।

१.डिजिटल केवल

केवलबाट एनालग जस्तै गरि डिजीटल टिभीपनि हेर्न सकिन्छ। तर डिजीटल टिभी हेर्न सेट अफ बक्स आवश्यक पर्दछ। तारबाट आएको सिग्नल सेट अफ बक्स हुँदै टेलिभिजनमा प्रसारित हुने गर्दछ। च्यानल हेर्न प्रत्येक टेलिभिजनका लागि अलग अलग सेट अफ बक्स आवश्यक पर्दछ। सञ्चार मन्त्रालयका अनुसार देश भरमा ११ कम्पनीले केवल डिजीटल प्रसारणको अनुमति लिएका छन्।

२.स्याटलाइट (डीटिएच)

स्याटलाइट प्रविधिमा पृथ्वीमा छाडिएको सिग्नलहरु स्याटलाइट हुँदै विभिन्न स्थानमा रहेको रिसिभरमा पुग्ने गर्छ। सञ्चार मन्त्रालयबाट स्याटलाइट प्रसारण अनुमति डीस मिडिया नेटवर्क लिमिटेड र नेपाल डिजीटल केवलले लिएका छन्। स्याटलाइटलाई तार रहित प्रणाली पनि भनिन्छ।

३.आईपीटीभी

इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटिभी) मा इन्टरनेटका माध्यमबाट मानिसहरुले टेलिभिजन हेर्न सक्दछन्। नेपालमा आईपीटिभी मार्फत प्रसारण टेलिभिजन प्रसारण गर्न सुबिसु केवल नेट, ओरियन्ट डिजिटल, एनआइटिभी स्ट्रिम र ब्रोडलिंक टिभीले अनुमती लिएका छन्। मोबाइल एप्लिकेसन वा स्मार्ट टिभीमा इन्टरनेट मार्फत अन्य माध्यमबाट प्रसारण भए जस्तै गरि टेलिभिजन च्यानल हेर्न सकिन्छ।

४.टेरेस्टेरियल

नेपालमा केबुल तथा डाइरेक्टु होम (डीटीएच) प्रविधि भित्रिनुभन्दा अगाडि एन्टेना राखेर टेलिभिजन हेर्ने गरिन्थ्यो । एन्टेना राखेर च्यानल ‘रिसिभ’ गर्ने पुरानो प्रविधिलाई डिजिटलमा रूपान्तरण गर्दै विकास गरिएको नयाँ प्रविधिलाई ‘डिजिटल भिडियो ब्रोडकास्टिङ–सेकेन्ड जेनेरेसन टेरेस्टेरियल (डीभीबी–टिटु)’ भनिन्छ।

यो पुरानो टेरेस्ट्रियल प्रविधिको विकसित डिजिटल रूप हो । यसलाई विश्वकै सबैभन्दा विकसित डिजिटल टेरेस्ट्रियल मानिन्छ । यसलाई डिजिटल टेरेस्ट्रियल टेलिभिजन (डीटीटी) समेत भन्ने गरिन्छ । सञ्चार मन्त्रालयका अनुसार ‘डीभीबी–टिटु’ प्रविधिबाट टीभी च्यानल वितरणका लागि तीनवटा कम्पनीले अनुमति लिएका छन्। नेपालमा टेरेस्ट्रियल माध्यमबाट नेपालमा सेवा सुरुवात भएको छैन।

सम्बन्धित समाचार 

मेरो टिभीको अफर, नि:शुल्क सेट अफ बक्स, अध्यक्ष भन्छन्: ‘एनालग च्यानल गैरकानुनी’

फाल्गुन ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्