कविशिरोमणिलाई श्रद्धाञ्जली दिने अनौठो तरिका

कविशिरोमणि लेखनाथ पौडेलका सबै सिर्जनाको संग्रह नेपाली शिक्षा परिषद्की रमा शर्मालाई हस्तान्तरण गर्दै कविशिरोमणिकी नातिनी प्रतिभा पाण्डे। तस्बिर: नेपालय

काठमाडौँ– खुशीमा साथ दिने। दुःखमा आड। गल्तीमा क्षमाका लागि बाटो बनाउने। माया दिने। स्नेह फूलाउने। जीवनको रसिलो स्वाद चखाउने।

कविशिरोमणि लेखनाथ पौडेलका कविताले गर्ने यस्ता धेरै गुन छन्। नतिरिने गुन। ज्ञान र नैतिक बन्न सिकाउने सिर्जनाले नेपाली भाषा साहित्यलाई भरिलो बनाउने उनै ‘पिता’ भौतिक रुपमा यो संसारबाट गएको ५२ वर्ष भयो।

उनले काया छोड्दा जन्मनेहरु अहिले अब त बुढेसकाल लाग्न थाल्यो भन्न थाले होलान्। त्यो भन्दा पछिको पुस्ताले उनको नाम सम्झिँदै पनि। तर पछिल्लो पुस्ताले उनका सिर्जना सुने तर नाम भुलेजस्तो छ।

सिर्जनामा बाँचेका। हाँस्ने। रुने। मानव चोलालाई असल बनाउने। माफीमा लाज नमान्ने। आधार दिएका कविशिरोमणि पौडेलका रचनाले एकीकृत स्वरुप पाएका छन्।

कविशिरोमणिका सम्भवतः सम्पूर्ण सिर्जनाको एकीकृत रुप ‘कविशिरोमणि रचनावली’ सोमबार सार्वजनिक भएको छ।

कविशिरोमणिका २१ वटा कृतिहरुको एकीकृत रुप दिएर ‘कविशिरोमणि रचनावली’ तयार पारिएको हो। साहित्यकार तथा शिक्षा सेवी प्राध्यापक डा. सनतकुमार वस्तीको सम्पादनमा तयार भएको कविशिरोमणि रचनावलीलाई नेपालयले प्रकाशन गरेको हो।

‘जसरी बाबा कविशिरोमणि हुनुहुन्छ, त्यसैगरी यो (कविशिरोमणि रचनावली) ग्रन्थ शिरोमणि हो,’ प्राध्यापक डा. वस्तीले भने, ‘उहाँका सिर्जनाको संकलनको एकीकृत रुपको सम्पादन गर्न पाउनु मेरा लागि जीवन सार्थकता हो। यसले मलाई पूर्ण बनाएको छ।’

कृतिको एकीकृत स्वरुपले जन्म पाउँदा आफ्नो जन्मले पनि अर्थ पाएजस्तो भएको उनले बताए। उनले भने, ‘विश्वका कुनै पनि उत्कृष्ट कृतिको साथमा उभ्याउँदा यो कृति १९ होइन २० नै हुन्छ।’

कविशिरोमणि लेखनाथ पौडेलकी नातिनी (कान्छी छोरी कुन्तीदेवीकी छोरी) डा. प्रतिभा पाण्डेको लगातारको साथ र लगनका कारण यो एकीकृत रचनावलीको सपना साकार भएको प्राध्यापक डा. वस्तीले बताए।

कविशिरोमणिलाई श्रद्धाञ्जली। तस्बिर: नेपालय

रचनावली सार्वजनिक गर्नका लागि भएको कार्यक्रममा डा. प्रतिभाले हजुरबुवा (कविशिरोमणि) का प्रकाशित तथा अप्रकाशित सिर्जनाको खोजी गर्दाको कुरासँगै उहाँसँग आफूले बिताएको बाल्यकाल पनि सम्झना गरिन्।

उनले कविशिरोमणि लेखनाथ पौडेलको खानपानदेखि सिर्जनाका कुरा पनि सुनाइन्। ‘शिवशंकरलाई निकै मान्ने उहाँलेको जीवन निकै सात्विक थियो। त्यस्तै खानपान पनि। उहाँलाई दूध–भात साह्रै मन पर्ने। हामी उहाँले खाएपछि बाँकी रहेको दूध–भात खान हारालुछ गर्थ्यौँ,’  डा. प्रतिभाले भनिन्, ‘जीवजन्तु र पशुपक्षीलाई माया गर्ने उहाँले हामीलाई जीवनको डोरी सजिलो गरी समात्न अनि अघि बढ्न सिकाउनु भो।’

कार्यक्रममा कविवर पौडेलको परिकल्पनामा उहाँको निधनपछि स्थापना भएको नेपाली शिक्षा परिषद् (जसले काठमाडौंको सोह्रखुट्टेमा लेखनाथ साहित्य सदन बनाएको छ) कि महासचिव रमा शर्माले उनका कृतिले आफ्नो जीवनमा पारेको प्रभावका बारेमा स्मरण गरिन्।

कविशिरोमणिका बारेमा
कविशिरोमणि लेखनाथ पौडेलको जन्म विसं १९४१ साल पुस १५ गते कास्कीको अर्घौँ अर्चलेमा भएको हो। पाँच वर्षको उमेरमा अक्षराम्भ गरेका लेखनाथले ९ वर्षको हुँदादेखि कविता लेख्न थालेका थिए। उनले काठमाडौंको तीनधारामा रहेको पाठशालामा बसेर शिक्षा लिँदै गरेको बेलामै संस्कृतमा कविता लेख्न थालेका हुन्।

उनको नेपाली भाषामा लेखिएको पहिलो काव्यकृति वर्षा विचार विसं १९६५ मा प्रकाशित भएको हो। उनले आफ्नो जीवनकालमा २० भन्दा धेरै कृति लेखे। कविशिरोमणिले विसं २०२२ फागुन ७ गते भौतिक रुपमा संसार त्यागे। तर अहिले पनि उनका सिर्जना जीवन्त छन्। जवान छन्। फूर्तिला छन्।

जाँदै गर्दा उनले जीवनको एक अकाट्य सत्य मृत्युलाई सजिलो बनाएर गए-

‘आयो टप्प टिप्यो मिति अब पुग्यो, टारेर टर्दैन त्यो …’

कवि शिरोमणि रचनावली विमोचनमा संगीतकर्मी आभास, रमा शर्मा, प्रतिभा पाण्डे र सनतकुमार वस्ती। तस्बिर: नेपालय
फाल्गुन ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्