सिरिया युद्ध

बिद्रोही नियन्त्रित क्षेत्रमा सरकारी सेनाको आक्रमण, ७७ जना सर्वसाधारणको मृत्यु

सिरियामा बिद्रोहीको कब्जामा रहेको क्षेत्रमा सरकारी सुरक्षाकर्मीले गरेको आक्रमणमा परि करिब ८० जना सर्वसाधारण नागरिकको ज्यान गएको छ ।

राजधानी दमासकसको बाहिरी क्षेत्रमा रहेको पूर्वी गुटामा सरकारी सुरक्षाकर्मीलेगरेको आक्रमणमा कम्तिमा ७७ जना सर्वसाधारण नागरिकको ज्यान गएको अधिकारकर्मीले बताएका छन् ।

पूर्वी गुटा बिद्रोहीको कब्जामा रहेको क्षेत्र हो, यहाँबाट बिद्रोहीलाई लखेट्न भन्दै सरकारी सुरक्षाकर्मीले गरिरहेको कारवाही अभियानको चपेटामा सर्वसाधारण नागरिक परेका छन् ।

सरकारी सुरक्षाकर्मीले सोमबार गरेको हवाई आक्रमण तथा रकेट प्रहारका कारण ज्यान गुमाउनेमा २० जना बालबालिका रहेको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएको बिबिसीले उल्लेख गरेको छ ।

सिरियाली सेनाले गुटामा स्थल आक्रमणको पनि तयारी गरिरहेको छ । हवाई आक्रमण तथा रकेट प्रहारका कारण त्यस क्षेत्रको अवस्था नियन्त्रण बाहिर पुगेको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् ।

पूर्वी गुटामा चार लाख भन्दा बढी नागरिकको बसोबास रहेको क्षेत्र हो । यो क्षेत्र सन् २०१३ देखि बिद्रोहीको कब्जामा छ ।

फाल्गुन ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्