नेप्से परिसूचक घट्ने क्रम रोकिएन, बजारमा किन्ने भन्दा बेच्ने धेरै

काठमाडौं- साताको तेश्रो कारोबार दिन पनि नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।

आइतबार दोहोरो अंकले ओरालो लागेको सेयर बजार सोमबार प्रजातन्त्र दिवसको सार्वजनिक बिदाले बन्द थियो।

बाम गठबन्धन टुंगिने गरि भएको सहमतिलाई पनि सेयर लगानीकर्ताले पत्याएनन्। नेप्से परिसूचकमा गिरावट आउँदा कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार दिनभरमा ४० करोड ५८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको हो।

साताको तेश्रो कारोबार दिन १७.१८ अंकले घटेको नेप्से परिसूचक १३९६.७२ अंकमा पुगेको छ। केपी ओली प्रधानमन्त्री भएका दिन ३६ अंकले उकालो लागेको परिसूचक आइतबार र मंगलबार गरि २८ अंकले घटिसकेको छ।

सरकारका नीति तथा कार्यक्रमहरु स्पष्ट नभएकाले पनि बजार बढ्न नसकेको ब्रोकरहरु बताउँछन्।

मंगलबार बजार खुलेको २० मिनेट सम्म उकालो लागेको बजार त्यसपछि निरन्तर ओरालो गएको हो।

बजार बढ्न थाले पछि सेलिङ प्रेसर परेर बजार घटेको हुन् सकने ब्रोकर बताउँछन् ।

एक ब्रोकरले भने, पहिला पहिला बजार बढ्दा सेयर बेच्ने भन्दा सेयर किन्न खोज्ने धेरै हुन्थ्ये तर अहिले भने बजार थोरै माथि जान लाग्दा सेयर प्रेसर बढेको छ।

मंगलबार ५ करोड ७० लाख रुपैयाँको कारोबार गरेको नेपाल लाइफ इन्स्योरेन्स धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो। दोहोरो अंकले घटेको बजारमा पनि प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ता धेरै कमाउनेको सूचीमा परे। प्रोग्रेसिभको मूल्य सबैभन्दा धेरै ५.१ प्रतिशतले बढेको हो।

धेरै रकम गुमाउनेमा समिट माइक्रोफाइनान्स विकास बैंकका लगानीकर्ता रहे। समिटको मूल्य ५.८२ प्रतिशतले ओरालो लागेको हो।

मंगलबार दोहोरो अंकले बजार ओरालो लाग्दा होटल र अन्य बाहेकका उपसूचक ओरालो लागेका छन्।

फाल्गुन ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्