बार्सिलाेनालाई चेल्सीले टेस्ट गर्दै, १२ वर्षपछि चेल्सीलाई हराउने प्रयाशमा बार्सिलोना

लन्डन- युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा मंगलबार राति बार्सिलोना र चेल्सी भिड्दैछन्।
चेल्सीको मैदानमा हुने यस खेलमा भ्रमणकारी टोली बार्सा दबाबमा हुने छ। चेल्सीसँग खेलेका पछिल्ला १० भिडन्तमा बार्सिलोनाले एक जित चार हार र पाँच बराबरीको नतिजा निकालेको थियो।
बार्सिलोनाले अन्तिमपटक सन् २००६ मा चेल्सीलाई हराएको थियो, अन्तिम १६ कै पहिलाे लेगमा २-१ गोलले । उक्त खेल चेल्सीको मैदानमा भएको थियो। त्यसयता च्याम्पियन्स लिगमा मात्र यी दुई टोली सात पटक भिडेका छन् जसमा चेल्सीले दुई जित र पाँच बराबरीको नतिजा निकालेको छ।
चेल्सीले ती दुवै जित अाफ्नै मैदानमा निकालेको थियो। तर बार्सा यो सिजन यूरोपका मुख्य पाँच घरेलु लिगकै एकमात्र अपराजित टोली हो। बार्सिलोनाले घरेलु लिगमा मात्र होइन यो सिजन खेलेका सबै प्रतियोगितामा एउटा पनि हार ब्यहोरेको छैन।
जारी यूरोपियन च्याम्पियन्स लिगकाे समूहगत चरणमा बार्सिलाेना १४ अंकसहित अपराजित रहँदै समूह विजेता बनेर नकआउट चरण आइपुगेको हो।
यता चेल्सी ११ अंक जोडेर समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। तर घरेलु लिगमा यो सिजन चेल्सीको प्रदर्शन उल्लेख्य छैन।
२७ खेलबाट ५३ अंक भएको चेल्सी शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १९ अंकले पछाडि छ। चेल्सीले घरेलु लिगको पछिल्लाे खेलमा वेस्टब्रुमलाई ३-० गोलले हराएको थियो।
यता घरेलु लिगमा २४ खेलबाट ६२ अंक भएको बार्सिलोना दोस्रो स्थानको एट्लेटिको म्याड्रिडभन्दा सात अंकले अगाडि छ। घरेलु लिगको आफ्नाे पछिल्लो खेलमा बार्साले इबरलाई २-० गोलले हराएको थियो।