पूर्वकमलरीदेखि उपसभामुखसम्म

‘बच्यो भने खान्थेँ, बचेन भने भोकै सुत्थेँ’

प्रदेश ५ उपसभामुख- कृष्णी थारु। तस्बिर: दशरथ घिमिरे

दाङ–प्रदेश ५ को उपसभामुख बनेकी कृष्णी थारुको जीवन आफैँमा संघर्षपूर्ण छ। ७ वर्षको उमेरदेखि अर्काको घरमा कमलरी बसेकी उनी विवाहपछि पनि कमलरी नै बसिन्। २०६४ सालबाट मात्रै राजनीतिमा लागेकी उनी अहिले प्रदेश नं. ५ को उपसभामुख बनेकी छिन्। उपसभामुख कृष्णी थारुसँग देशसञ्चारकर्मी दशरथ घिमिरेले कुराकानी गरेका छन्।

तपाईँ कसरी कमलरी बन्नुभयो?

मेरो जन्म कमैयाको घरमै भयो। मेरो बुवाआमाले कमैयाको काम गर्दै हुनुहुन्थ्यो। त्यहाँ जन्म भयो। हामी पाँच बहिनी थियौँ। मेरो बुवाको कमाइले खान पुग्दैनथ्यो त्यतिखेर। आर्थिक कमजोरी थियो। अनि त्यो भैराख्दा खेरि हाम्रा बहिनीहरुलाई कमलरी लगाउनुहुन्थ्यो। बुवा आफू कमैया गर्नुहुन्थ्यो, अनि हामीलाई कमलरी काम लगाउनु भयो।

मेरो उमेर ७ वर्ष हुँदादेखि नै कमलरी बसेको हुँ। बिहेपछि पनि म कमलरी बसे। कमलरी बस्दा धेरै दुःखहरु भोग्नु पर्‍यो। समस्या भोग्नु पर्‍यो। कहिले खान पाइएन, कहीले मेरो मालकिनीहरुले मेरो भात हाल्थेनन्। उनीहरुले खाएर बचेको खाना खानु पर्थ्यो। बच्यो भने खान्थेँ, बचेन भने भोकै पनि सुत्नुपर्थ्यो। कहिले भोकै, पानी मात्रै खाएर भए पनि सुत्नुपर्थ्यो। जसको एक धुर जमिन थिएन्, ऊ मान्छे कमैया पनि बन्यो, ऊ मान्छे कमलरी पनि बन्यो। ऊ मान्छे भैसवार पनि बन्यो। हरेक प्रकृतिले थिचोमिचोमा पारेको स्थिति थियो। अहिले पनि मेरो बुवाले कमैयाको परिचयपत्र पाउनुभएको छैन। र, सुकुम्बासीको नाममा तीन कठ्ठा जग्गा पाएर त्यसमा काम गरिराखेका छौं।

उपसभामुख पदमा निर्वाचित हुँदा कस्तो अनुभव गर्नुभएको छ ?

मलाई गर्वको महसुस भइहेको छ। हिजोका दिनमा जति दुःख पाएँ, जति पिडा पाएँ, जति अन्याय अत्याचार, थुप्रै मैले भोग्न वाध्य भएँ। सबै कारण के थियो भने गरिबी थियो। अहिले म यो ठाउँमा आइपुग्दा वास्तवमा मलाई गर्व महसुुस भएको छ। यो गरिमामय ठाउँमा म आफैँ उपस्थित हुन पाएको छु।

शोषित पीडितहरुको पक्षमा संविधानमा थुप्रै अधिकारहरु उल्लेख भएको छ। हरेक हिसाबले अधिकारहरु उल्लेख भएको छ। मौलिक अधिकार बनेको छ। संविधान कार्यान्वयन गर्ने मेरो भूमिका हुन्छ। संविधान कार्यान्वयन गर्दै आवश्यक नितिनियम बनाउनुपर्छ। नीति नियम नबन्दा हाम्रा समस्याहरु सम्वोधन हुन नसकेको स्थिति मैले देखेको छु।

समस्या समाधान गर्नका लागि मैले नितिनियम बनाउन मेरो भूमिका हुन्छ। नितिनियम बनाएर मात्र भएन, त्यसको कार्यान्वयन पनि महत्वपूर्ण हो। बनाइसकेपछि क्रमबद्ध रुपमा योजनाबद्ध रुपले त्यसको कार्यान्वयमा लैजानुपर्छ । म एक्लै पनि गर्दिन। सबैसँग परामर्श, छलफल गरेर अघि बढ्छु। पक्का पनि हिजोको दिनमा पिल्सिएकाहरुको उत्थानको पक्षमा मेरो भूमिका रहन्छ।

कुनै दिन उपसभामुख बन्छु भनेर कल्पना गर्नुभएको थियो? 

हिजोका दिनमा मेरो सोचाइ थिएन। सोचाइमात्र कहाँ थियो भन्दा खेरि कुन मालिकको घरमा काम गर्न जाँदा राम्रो शब्दले बोल्नुहुन्छ होला। म पनि मान्छे हुँ। मान्छे सरह ब्यवहार कहाँ हुन्छ होला भनेर सोचिरहन्थेँ। कुन मालिकको घरमा काम गरेपछि मलाई उचित ज्याला दिन्छन् होला। अनि मेरो बच्चाबच्छीलाई पाल्न, पढाउन सजिलो हुन्छ होला भनेर मात्रै कल्पना गर्थेँ।

अरु जसरी हिँडिरहेका छन्, घुमिरहेका छन्, उनीहरुजसरी स्वतन्त्रपूर्वक हिँड्न पाउँछु कि पाउँदिन भन्ने मात्रै सोचेँ। आज म यो ठाउँमा आईपुग्दा वास्तवमा म गर्वको महसुस गरिरहेको छु। मैले कल्पना गरेको थिइन कि यो गरिमामय ठाउँमा मेरो उपस्थिति हुन्छ। यो स्थानमा आइपुग्छु भनेर मैले सोचेको थिइन। आज म यो ठाउँमा आइपुग्दा सारै खुसी लागिरहेको छ। मेरो आमा हुनुहुन्न तर बुवा हुनुहुन्छ। उहाँ धेरै खुसी हुनुहुन्छ। मैले काठमाडौँसम्म देख्न पाइन तर मेरो छोरी यहाँसम्म पुग्यो भनेर मेरो बुवा सारै खुसी हुनुभएको छ। फोनमा कुरा भएको थियो। उहाँ खुसीले रोइरहनुभएको थियो।

प्रदेश ५ः पूर्व कमलरी कृष्णी थारु उपसभामुख बन्‍ने निश्‍चित

फाल्गुन ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्