‘प्रधानमन्त्री कप’ एपीएफलाई

नेपालगञ्ज– पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ। एपीएफले दोस्रो संस्करण पनि जितेको थियो।

नेपालगञ्ज रंगशालामा जारी प्रतियोगिताको फाइनलमा एपीएफले शिवम् न्यू डायमण्डलाई कडा संघर्षका बीचमा पराजित गरेर उपाधि जितेको हो । पहिलो सेटमा न्यू डायमण्डले एपीएफलाई पराकिलो अन्तरले जितेको थियो । २५–१२ को सेटमा हारेको एपीएफले दोस्रो सेटमा लयमा फर्किएको थियो । जहाँ उसले २५–२१ मा न्यू डायमण्डलाई पाखा लगायो ।

तेस्रो सेटमा एपीएफले शुरुदेखि नै न्यू डायमण्डलाई दबाबमा राख्यो । यो सेटमा एपीएफ २५–१६ ले विजयी भयो । चौथो सेटमा फेरि न्यू डायमण्ड लयमा फर्कियो । उसले एपीएफलाई २५–२१ ले पाखा लगायो ।

फाइनल अर्थात पाँचौं सेटमा दुवैतिरबाट कडा प्रतिस्पर्धा भयो । अंकमा कहिले को अगाडि त कहिले को अगाडि देखिए । अन्तिममा एपीएफले १९–१७ मा न्यू डायमण्डलाई पाखा लगाउदै प्रधानमन्त्री कप दोस्रो पटक जित्यो । यो खेलमा वुमन अफ द म्याच एपीएफकी सरस्वती चौधरी भइन् । उनी लगातार तेस्रो पटक यो उपाधिबाट सम्मानित भइन् ।

जितसँगै एपीएफ दुई लाख रुपैया, ट्रफी र मेडल पाएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टले एपीएफलाई पुरस्कार वितरण गरे । दोस्रो भएको न्यू डायमण्डले एक लाख रुपैया, ट्रफी र मेडल पायो । प्रतियोगितामा बंगलादेशको इफाटलाई हराउदै नेपाल प्रहरी तेस्रो भयो । उसले पचास हजार नगद, ट्रफी र मेडल हात पार्‍यो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी भइन् । उत्कृष्ट स्पाइकर न्यू डायमण्डकी प्रतिभा माली, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्स न्यू डायमण्डकी कृपा अधिकारी र सरिना श्रेष्ठ, उत्कृष्ट ब्लकर र उत्कृष्ट सर्वर एपीएफकी हिरा केसी र नेविका चौधरी भए । सबैले दश/दश हजार रुपैया पुरस्कार पाए ।

एपीएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले दुई सेटमा रिसिब र डिफेन्स कमजोर भएकाले न्यू डायमण्ड प्रतिस्पर्धामा आएको प्रतिक्रिया दिए ।

न्यू डायमण्डका प्रशिक्षक कुमार राईले पराजयलाई ‘ब्याड लक’ नै भएको प्रतिक्रिया दिए । फाइनल सेटको तीन चान्समा प्रतिभा मालीको सट खेर जाँदा पराजित भएको राईको भनाई थियो । ‘प्रतिभाले नै तानेर खेललाई अन्तिममा पुर्‍याएकी थिई, फाइनल राउण्डमा उसका तीन मौका सदुपयोग हुन नसक्दा हार्नु पर्यो‍,’ प्रशिक्षक राईले भने।

एपीएफ र न्यू डायमण्ड सदाबहार प्रतिस्पर्धी
नेपालको भलिबल खेलमा पछिल्ला वर्षदेखि एपीएफ र न्यू डायमण्ड उपाधिका लागि भिड्ने सदाबहार टोली बनेका छन् ।

राष्ट्रिय खेलाडीले भरिएको एपीएफलाई सधैं उपाधि उचाल्ने बेलामा न्यू डायमण्ड नै प्रतिस्पर्धी भएर आइरहेको छ। एपीएफमा राष्ट्रिय टीमका पाँच जना खेलाडी छन् । राष्ट्रिय टीमकी कप्तान बिनिता बुढाथोकी, सरस्वती चौधरी, रेश्मा भण्डारी, नेविका चौधरी र उषा विष्ट एपीएफबाट खेल्छन् ।

न्यू डायमण्डमा दुई जना राष्ट्रिय खेलाडी छन् । प्रतिभा माली र कृपा भण्डारी राष्ट्रिय टोलीका सदस्य हुन् । पछिल्ला केही प्रतियोगितादेखि राष्ट्रिय टीमकी सदस्य एवं पश्चिमाञ्चलकी कप्तान मञ्जु गुरुङ न्यू डायमण्डबाट खेलिरहेकी छन् ।

फागुन १ गते चितवनमा भएको मेयर कपमा एपीएफले न्यू डायमण्डलाई कडा संघर्ष गरेर पाखा लगाएको थियो । माघ २३ गते भएको शिवम न्यू डायमण्ड कपको उपाधी भने आयोजक न्यू डायमण्डले एपीएफलाई नै हराएर जित्यो । माघ २० गते भएको डोरपाटनको फाइनलमा एपीएफले न्यू डायमण्डलाई निराश गराएको थियो ।

देशका विभिन्न ठाउँमा बैशाख यता भएका सात ठूला प्रतियोगितामा एपीएफ र न्यू डायमण्ड नै फाइनल खेलेका छन् । ६ पटक भने एपीएफले बाजी मारेको छ ।

भलिबलमा अर्को प्रतिस्पर्धी टोली नेपाल प्रहरी हो । नेपाल प्रहरी भने पछिल्लो समयमा अलि सुस्ताएको छ । त्यसो त नेपाल प्रहरीमा कोपिला उप्रेती, मनिषा चौधरी र कमला पुन राष्ट्रिय टोलीका सदस्य छन् । पछिल्ला दिनमा पुराना र नयाँलाई मिलाएर टोली बनाउदा तालमेल मिल्न नसकेकाले पराजित भोगेको कप्तान उप्रेतीले बताइन् ।

नेपाल प्रहरीले चितवनमा खेल्दा भेट भएका तीन जना भारतीय खेलाडीलाई सहभागी गराएर प्रधानमन्त्री कप खेल्न नेपालगञ्ज आएको थियो । उद्घाटन खेलमै न्यू डायमण्डसँग पराजित भएको प्रहरी सेमिफाइनलमा पुगेपनि एपीएफले अगाडिको बाटो बन्द गरिदिएको थियो । ‘खाने र खेल्ने’ काम हुने भएकाले प्रहरी संगठनका खेलाडी तन्दुरुस्त र बलिया हुन्छन् भन्ने बुझाइलाई न्यू डायमण्डले तोड्दै लगेको जानकारहरु बताउँछन् ।

फाल्गुन ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्