मेस्सीले गोलको खडेरी तोडे, बार्सिलोना हारबाट जोगियो

जित निकाल्न नसके पनि बार्सिलोना चेल्सीसँगको खेलमा हारबाट भने जोगिएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा मंगलबार राति बार्सिलोनाले चेल्सीसँग १–१ को बराबरी खेलेको हो ।

प्रिमियर लिग क्लब चेल्सीको मैदानमा भएको खेलमा बार्सिलोना सुरुमा पछि परेर पनि बराबरी गर्न सफल भएको हो । बार्सिलोनालाई हारबाट जोगाउन स्टार स्ट्राइकर लियोनल मेस्सीले कीर्तिमानी गोल गरे ।

कीर्तिमानी यो अर्थमा कि च्याम्पियन्स लिगमा बार्सिलोना र चेल्सीबिच यसअघि भएका ८ खेलमा मेस्सीले गोल गर्न सकेका थिएनन् । उनले चेल्सी विरुद्ध नवौँ खेलमा आएर गोल गरेका हुन् । उनले चेल्सी विरुद्ध गोल गर्नका लागि समग्रमा सात सय ३० मिनेट पर्खिनु पर्‍यो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ६२ औँ मिनेटमा विलियनले गोल गर्दै घरेलु टोली चेल्सीलाई अग्रता दिलाए । भ्रमण टोली बार्सिलोनाले हिम्मत हारेन ।

७५ औँ मिनेटमा मेस्सीले कला देखाए । चेल्सी विरुद्ध आफ्नो गोलको घडेरीलाई अन्त्य गरे । खेल १–१ को बराबरीमा आयो । मेस्सीले चेल्सीको रक्षपंक्तिको कमजोरीका कारण गोल गर्ने मौका पाएका हुन् ।

अब दोस्रो लेगमा बार्सिलोनाको मैदानमा आउँदो मार्च १४ मा हुनेछ ।

सम्बन्धित समाचार 

मेस्सी फेरि रुनु परेन !

फाल्गुन ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्