बार्यन म्युनिखले लियो शानदार जितको स्वाद

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बार्यन म्युनिखले प्रभावशाली जित निकालेको छ । बुण्डेस लिगा क्लब म्युनिखले घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित बेसिक्टासलाई ५–० ले हराएको हो ।
खेलको १६ औँ मिनेटमा विडा सोझै पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बेसिक्टास खेलको अधिकांश समय १० खेलाडीमा सीमित भयो ।
बार्यन म्युनिखको जितमा थोमस मुलर र रोबर्ट लेवान्डोस्कीले दुई दुई गोल गरे । यस्तै किङ्गस्ली कोम्यानले एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको बार्यनले दोस्रो हाफमा चार गोल गर्यो ।
४३ औँ मिनेटमा मुलरले गोल गर्दै बार्यनलाई सुरुवाति अग्रता दिलाए । ५२ औँ मिनेटमा कोम्यानले बार्यनको अग्रता दोब्बर पारे । ६६ औँ मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ३–० को अवस्थामा पुग्यो ।
त्यसपछि गोलको पालो लिए लेवान्डोस्कीले । उनले ७९ र ८८ मिनेटमा गरी दुई गोल गर्दै टिमलाई ५–० को शानदार जितको स्वाद दिलाए । दोस्रो लेग टर्किस क्लब बेसिक्टासको मैदान इस्थानबुलमा आउँदो मार्च १४ मा हुनेछ ।