
आवश्यक पर्दा टिमको जिम्मा लिने । समर्थकलाई निराश हुन नदिने । आशको डोली चुँड्न नदिने नाम, लियोनल मेस्सी ।
उनी खेलेर पनि गोल नगरेका टिम कमै मात्र छन् । तर चेल्सीसँगको खेल भने न उनको टिम बार्सिलोनालाई सजिलो हुने गर्छ त न मेस्सी स्वयम्लाई नै ।
मेस्सीले चेल्सीबिरुद्ध ८ पटक खेले तर गोल शून्य । यसपटक भने उनले खुड्किलो उक्लिए शून्यबाट एक।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेग । मैदान चेल्सीको, भ्रमण टोली स्पेनिस जाइन्ट बार्सिलोना । नजर खेल, टिम अनि त्यो भन्दा बढी मेस्सीको विगत र हुन सक्ने परिवर्तनमा ।
मेस्सीले गोलको खडेरी तोडे, बार्सिलोना हारबाट जोगियो
पहिलो हाफमा गोल भएन । दोस्रो हाफमा विलियनको गोलमा चेल्सीले अग्रता लियो । राम्रो प्रदर्शन हुँदाहुँदै पनि बार्सिलोनाले गोलको स्वाद लिएन पाएको थिएन ।
तर ७५ औँ मिनेटमा मेस्सीले ‘डबल’ स्वाद लिए, टिमलाई हारबाट जोगाउने र आफ्नो गोलको खडेरी तोड्ने गोलको ।
च्याम्पियन्स लिगमा यसअघि भएका ८ खेलमा चेल्सी विरुद्ध गोल गर्न नसकेका मेस्सीले नवौँ खेलमा गोल गरे । क्रम भंग भयो । चेल्सी विरुद्धका सबै खेलमा गरेर ७३० औँ मिनेटमा मेस्सीले गोल गरे ।
यसअघि चेल्सीसँगको खेलमा पेनाल्टीमै पनि चुकेका मेस्सीले यसपटक भने गोल मात्र गरेर टिम र फ्यानमा निराशाको बादल लाग्न दिएनन् ।
मेस्सीले फेरि रुनु परेन
६ वर्षअघि चेल्सीसँगको खेलमा मेस्सी मैदानमै रोएका थिए । कारण, चेल्सीसँगको च्याम्पियन्स लिगको सेमिफाइनल जस्तो महत्वपूर्ण खेलमा पेनाल्टी गुमाउनु ।
सन् २०१२ मा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा मेस्सीले पेनाल्टीमा पनि गोल नगरेका हुन् । यसको परिणाम त्यसबेला बार्सिलोना चेल्सीसँग समग्रमा ३–२ ले हारेको थियो ।
तर यसपटक भने जित्न नसके पनि टिमलाई हारबाट जोए । त्यसको माध्यम बने मेस्सी । उनले यसपटक रुनु परेन । टिम र फ्यानले पनि ।