संघीय संसदको शपथ ग्रहण फागुन २० गते

फाइल फोटो।

काठमाडौँ- संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सदस्यको सपथग्रहण फागुन २० गते हुने भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २१ गते संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकाले त्यसका एक दिनअघि सपथग्रहण हुने भएको हो। संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको दिउँसो ४ बजे र राष्ट्रियसभाका सपथ बेलुकी ५ बजे गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिए।

संविधानको धारा ९५ (२) अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक संयुक्त बस्ने भए पनि सपथग्रहण भने फरक फरक गराउन लागिएको हो। दुवै सदनको बैठकस्थल संसद सचिवालयले यसअघि नै तयार पारिसकको छ। अहिले सपथका लागि प्रशासनिक र प्राविधिक तयारी भइरहेको महासचिव भट्टराईले देश सञ्चारलाई बताए।

प्रतिनिधिसभा, राष्ट्रियसभा वा संसदीय समितिको बैठकमा भाग लिनु अघि सांसदहरुले सपथग्रहण गर्नुपर्छ। दुवै सदनका जेष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि उनीहरुले नै बाँकी सदस्यलाई शपथ खुवाउने संवैधानिक प्रावधान छ। जेष्ठ सदस्यको शपथ ग्रहण भने राष्ट्रपति कार्यालयमा हुनेछ।

 

फाल्गुन ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्