श्रीलंकाबाट बुद्धको अस्तु शाश्वतधाममा ल्याइयो 

शास्वतधामको निर्माणाधीन बुद्धिस्ट सेन्टरमा बुद्धको अस्तु राखिँदै।

काठमाडौँ- सनातन धर्मको प्रख्यात धार्मिक सम्पदा शास्वतधाममा श्रीलंकाबाट भगवान गौतम बुद्धको अस्तु ल्याइएको छ। उक्त अस्तु शाश्वतधाममा निर्माण गर्न लागिएको बुद्धिस्ट सेन्टरमा राखिनेछ।

बुद्धिष्ट सेन्टर स्थापना हुनुअघि भक्तजनहरूको दर्शनका लागि शाश्वतधाममा विशेष मण्डप तयार गरी अस्तु राखिएको छ। अस्तु दर्शनका लागि अहिले बौद्ध र हिन्दु  धर्माबलम्बीहरुको भिड लागेको छ। धाममा राखिएको अस्तुलाई श्रीलंकाबाट आएका भिक्षुहरुको टोलीले विधिपूर्वक दैनिक पूजाअर्चना गरिरहेका छन्।

श्रीलंकाको राजधानी कोलम्बो नजिकैको २६ सय वर्ष पुरानो राजमाया बिहारबाट उक्त अस्तु नेपालको शाश्वतधाम ल्याइएको हो।

विश्वभरका बौद्ध धर्मावलम्वीहरूका बीच उक्त विहार निकै प्रतिष्ठित मानिन्छ।

बौद्ध भिक्षु खेम्पो पेमा सम्बा लामाले भगवान बुद्धको अस्तुलाई प्राणीको उद्धार गर्न साक्षात्कार भगवान मानिने भएकाले बुद्ध धर्ममा यसको सबैभन्दा उच्च महत्व रहेको बताए। राजामाया बिहारका जनका इडिरेसंघेले भगवान बुद्धका अनुयायीहरुले अस्तु (बुद्धको खरानी) रहेको स्थानलाई साक्षात् भगवान बुद्धको स्वरुपका रुपमा श्रद्धा गर्ने बताए।

मंगलबार शाश्वतधाम परिसरमा बुद्धिष्ट सेन्टरको शिलान्यास गरिएको छ। श्रीलंका, लुम्बिनीस्थित श्रीलंका गुम्बा र दाउन्नेमा रहेको बौद्ध गुम्बाका भिक्षुहरुबाट विधिपूर्वक बुद्धिष्ट सेन्टरको शिलान्यास गरिएको हो। आगामी बैशाख पूर्णिमाका दिन उक्त सेन्टरको उद्घाटन गर्ने लक्ष्य राखिएको छ। बुद्धिष्ट सेन्टर सञ्चालनमा आएपछि भक्तजनहरूले सोही स्थानमा अस्तुको दर्शन गर्न पाउनेछन्।

गत शुक्रबार श्रीलंकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ ल्याइएको अस्तुलाई एक रात काठमाडौँको एक चैत्यमा राखी शनिबार शाश्वतधाम पुर्‍याइएको हो। भरतपुर बिमानस्थलबाट शाश्वतधाममा अस्तु ल्याइँदा बौद्ध परम्परा अनुसार विशेष  पूजाअर्चना गरिएको थियो।

पुरातत्व विभागका पुरातत्व बिज्ञ रामबहादुर कुँवरका अनुसार आजभन्दा २५६२ वर्षअघि देह त्याग गरेका भगवान गौतम बुद्धलाई उनका अनुयायीहरु (भिक्षु)ले जलाएका थिए। उनलाई जलाईएपछि बनेको खरानी आआफ्नो चैत्यमा राख्न उनीहरूबीच होडबाजी चलेको थियो।

बुद्धको अस्तु राख्न शास्वतधाममा पूजा गरिँदै।
फाल्गुन ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्