जनकपुरको चार महिनाको बजेट १ अर्ब ७४ करोड

जनकपुर- जनकपुर उपमहानगरपालिकाले विभिन्‍न महत्वाकांक्षी योजनाका साथ चालू आर्थिक वर्षको लागि १ अर्ब ७४ करोडको बजेट विनियोजन गरेको छ।

उपमहानगरपालिकाको बुधवार सम्पन्न भएको प्रथम नगरसभामा चालु आर्थिक वर्ष २०७४/७५ को लागि १ अर्ब ७४ करोड ५१ लाख ४० हजारको बजेट पेश गरिएको छ।

आर्थिक वर्ष समाप्त हुनमा मात्र चार महिना बाँकी रहँदा जनकपुर उपमहानगरपालिकाले सम्पन्‍न गरेको नगरसभामा प्रस्तुत बजेट यही ४ महिना सम्ममा खर्चिनु पर्ने छ।

पहिलो नगरसभामा प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रममा जनकपुरलाई नमूना शहर बनाउने योजनाहरु प्रस्तुत भएको छ।

नगर प्रमुख लालकिशोर साहद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगर क्षेत्रको पूर्वाधार निर्माणलाई प्राथमिकता दिने उल्लेख छ । यस्तै, फोहर व्यवस्थापन र नाला निर्माणको कामलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको छ।

कार्यक्रममा नगर क्षेत्र भित्रको ऐतिहासिक, धार्मिक मठमन्दिरहरुको व्यवस्थापनमा जोड दिनुका साथै धार्मिक सरोबरहरुको सौन्दर्यीकरण तथा संरक्षण माथि विशेष ध्यान दिने योजना रहेको उपमहानगरपालिकाले जनाएको हो।

यता, नगर सुरक्षालाई ध्यानमा राख्दै सडक बत्ती, सी.सी.टी.भी. जडान र ट्राफिक संकेतमाथी पनि नीति कार्यक्रममा जोड दिइएको छ। उपमहानगरपालिकाले पर्यटकीय संभावनालाई ध्यानमा राख्दै पर्यटन वेबसाइट निर्माणको साथै पर्यटकीय गाइड बुक र ब्रोसर तयार गर्ने योजना बनाएको छ।

प्लाष्टिकजन्य वस्तुलाई प्रयोगमा निषेध गरी माटोको भाँडावर्तन, कागज र कपडाको झोला बनाउने कार्यमा उपमहानगरपालिकाले अनुदान उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ। नीति तथा कार्यक्रमको अनुसार सामाजिक समावेशिकरण तथा लैङ्गिक समानताको दृष्टिकोणले बालमैत्री स्थानीय शासन, महिला, दलित, अपाङ्ग, जेष्ठ नागरिक, अनाथ बालबालिकाको रेखदेखमा विशेष जोड दिइने छ।

सीप विकास तथा रोजगारी प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिँदै गरिबी न्यूनिकरणको लागी पहल, सूचना प्रविधिमा प्रशासन सञ्चालन गर्दै सुशासन, पारदर्शिता, जबाबदेहिता र उत्तरदायित्व प्रवद्र्धन गरिने योजनामा उल्लेख गरिएको छ।

९ देखि १२ सम्मका छात्रालाई साइकल दिइने
जनकपुर उपमहानगरपालिकाको कार्यक्रममा सामुदायिक विद्यालयका दलित छात्राहरुलाई लक्षित गर्दै कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई शिक्षामा सहज पहुँचको लागि साइकल उपलब्ध गराउने आश्वासन समेत दिइएको छ।

यस्तै, नगर क्षेत्र भित्रको सार्वजनिक जग्गाको संरक्षणको सांथै जानकी मन्दिर, राम मन्दिर सहितको पुरातात्विक महत्वको सांस्कृतिक धरोहरहरुको संरक्षण तथा संवद्र्धनको लागी विश्व सम्पदा सूचीमा समावेश गरिने कार्यलाई प्राथमिकता दिइने कार्यक्रममा उल्लेख रहेको छ।

मिथिला कला र संस्कृतिको संरक्षण तथा संवद्र्धनमाथी जोड दिदैँ नगर भित्र देखिएको लामखुट्टेको समस्या समाधान गर्न विशेष कार्यक्रम सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको हो ।

कार्यकर्ताले गरे बहिष्कार
जनकपुर उपमहानगरपालिकाको प्रथम नगरसभालाई राजपा कार्यकर्ताले वहिष्कार गरेको छ। कार्यक्रममा शहीदहरुको अवमूल्यन भएको भन्दै राजपा कार्यकर्ता सुमन्तकान्त ठाकुरले नगरसभा बहिष्कार गरेका छन्।

शहीदपरिवारको उपस्थित अतिथिहरुलाई माल्यर्पण गर्ने बेला मंगलधुन बजाएकोले शहीदहरुको अपमान भएको भन्दै ठाकुरले कार्यक्रम वहिष्कार गरेको बताएका छन्। शहीद परिवार पनि मञ्‍चमा बसेको बेला माल्यार्पणमा मंगलधुन बजाउनु शहीदहरुको अपमान रहेको उनको भनाई छ।

फाल्गुन ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्