कोहलीको खातामा १ रन, हार्‍यो भारत

दक्षिण अफ्रिकासँगको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत पराजित भएको छ । घरेलु मैदान सेन्चुरियनमा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ६ विकेटले हराएको हो ।

भारतले प्रस्तुत गरेको १८९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर ४ बलमा मात्रै चार विकेटको क्षतिमा भेट्टायो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ३० बलमा सात छक्का र तीन चौकाको मद्दतमा ६९ रन बनाए ।

यस्तै जेपी डुमिनीले ४० बलमा चार चौका र तीन छक्काको सहयोगमा नटआउट ६४ रन बनाए । भारतका जयदेव उनादकटले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १८८ रन बनायो । भारतका लागि मनीष पाण्डेले ४८ बलमा ६ चौका र तीन छक्काको सहयोगमा नटआउट ७९ रन बनाए ।

यस्तै महेन्द्र सिंह धोनीले २८ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै नटआउट ५२ रन बनाए । सुरेश रैनाले ३० तथा शिखर धवनले २४ रन बनाएको खेलमा कप्तान विराट कोहलीले पाँच बलमा एक रन मात्रै बनाउन सके । कोहली डालको बलमा क्याच आउट भएका हुन् ।

यस्तै रोहित शर्माले रनको खाता नै खोल्न सकेनन् । यो हारसँगै तीन ट्वेन्टी–ट्वेन्टीको श्रृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेलमा भारत विजयी भएको थियो ।

फाल्गुन १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्