सिरिया युद्ध

पृथ्वीको नर्क बन्दै पूर्वी गुटा

सिरिया सरकारले गुटामा भइरहेको आक्रमण बिद्रोही लक्षित रहेको दाबी गरेको छ । तर मर्कामा सर्वसाधारण नागरिक परेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेट्सले सिरियाको पूर्वी गुटामा भइरहेको हिंसात्मक संघर्ष तत्काल अन्त्य गर्न आग्रह गरेका छन् ।

पछिल्लो हिंसात्मक संघर्षले पूर्वी गुटा मानव समुदायका लागि पृथ्वीमै रहेको नर्क जस्तै बनेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव गुटरेट्सले आलोचना गरेका छन् ।

उपचारको पर्खाईमा घाइते, यहाँ स्वास्थ्य सेवा कमजोर छ ।

सन् २०१३ देखि बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटामा गएको सोमबारदेखि सरकारी सेनाले कारवाही अभियान तीब्र पारेको छ । बिद्रोही तथा सरकारी सेनाको भिडन्तको मारमा स्थानीय सर्वसाधारण नागरिक परेका छन् ।

राजधानी दमासकसको बाहिरी क्षेत्रमा रहेको पूर्वी गुटामा सरकारी सेनाले हवाई आक्रमण तथा रकेट प्रहार गरेको छ ।

आक्रमणले भत्किएको भवनको भग्दावशेष हेर्दै स्थानीय बासिन्दा ।

अहिलेसम्म कम्तिमा ३४६ जनाको ज्यान गएको र यसमा झण्डै ७० जना बालबालिका रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । यस्तै ८७८ जना घाइते भएका छन् । ज्यान गुमाउने तथा घाइते हुनेको संख्या यो भन्दा पनि धेरै हुने त्यहाँ कार्यरत मानवअधिकारवादी संस्था तथा मानवअधिकार कार्यकर्तालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

बुधबार मात्रै ४५ जनाको ज्यान गएको तथा २५० जना घाइते भएको पूर्वी गुटामा स्वास्थ्य सेवा प्रदान गर्दै आएको युनियन अफ मेडिकल केयर एण्ड रिलिफ अर्गनाइजेशन (युओएसएसएम) ले जनाएको छ ।

पूर्वी गुटामा मानवीय सहायता सामग्री लैजान पाएका छैनन् । सरकारले गएको नोभेम्बरको अन्तिममा एउटा सहायता संस्थालाई पूर्वी गुटामा सहयोगका सामग्री लैजान दिएको थियो । त्यसयता कुनै पनि संस्थाले सहायता सामग्री लैजान पाएका छैनन् ।

पूर्वी गुटामा खाद्यान्नको चरम अभाव छ ।

अहिले गुटामा खाद्यान्नसहित अत्यवश्यक सामग्रीको गम्भीर अभाव रहेको छ । संयुक्त राष्ट्रसंघसँगै रेड क्रसको अन्तर्राष्ट्रिय संस्था आइसिआरसीले गुटामा तत्काल मानवीय सहायताका लागि आह्वान गरेको छ । यस्तै पूर्वी गुटामा संघर्ष रोकेर तत्काल मानवीय सहायता सामग्री लैजान दिन पनि आग्रह गरिएको छ ।

घाइते भएकाहरु उपचार नपाएकै कारण मर्नु पर्ने अवस्था रहेको भन्दै आइसिआरसीले दुवै पक्षलाई मानवीयता देखाउन आग्रह गरेको छ ।

तस्बिर : एएफपी र इपिए

फाल्गुन १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू