
काठमाडौँ- नेपाल पर्यटन बोर्डमा भएको भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ जनाविरुद्ध मुद्दा दायर गरे पनि विशेष अदालतले बिहीबार तीन जनालाई मात्र दोषी ठहर गरेको छ।
विशेषले तीन जनाबाट १ करोड ३२ लाख ३४ हजार ६ सय १० रुपैयाँ जरिवाना र ८० लाख ५१ हजार ३ सय ६२ रुपैयाँ बिगो भराउन आदेश दिएको छ। बोर्डका तत्कालीन प्रमुख सुवास निरौला, लेखा प्रमुख अनिल दास र पर्यटन व्यवसायी महिन्द्र खनाललाई दोषी ठहर गरेको हो।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासले बाँकी २० जनालाई भने सफाइ दिएको छ। विशेष अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलका अनुसार एक महिनासम्मको निरन्तरको सुनुवाईपछि बिहीबार मुद्दाको फैसला भएको हो। उनका अनुसार मुद्दाको अन्तिम सुनुवाइका लागि मात्र इजलाशमा २३ दिन लगातार बहस भएको छ।
विशेषले निरौलालाई सात वर्ष कैद, ८० लाख ५१ ह्जार तीन सय ३२ रुपैयाँ जरिवाना र ५४ लाख २९ हजार ७ २३ रुपैयाँ बिगो भराउने फैसला गरेको छ। त्यस्तै, पर्यटन बोर्डका तत्कालीन लेखा प्रमुख अनिल दासलाई ६ वर्ष कैदसँगै ५० लाख २९ हजार ५४ रुपैयाँ जरिवाना र २४ लाख ३७ हजार ४ सय १४ बिगो भराउने फैसला भएको प्रवक्ता पोखरेलले जानकारी दिए। पर्यटन व्यवसायी महिन्द्र खनाललाई १ लाख ५४ हजार २ सय २४ रुपैयाँ जरिवाना र त्यत्ति नै बिगो भराउने फैसला पनि विशेष अदालतले गरेको छ।
पर्यटन बोर्डमा भएको भ्रष्टाचारबारे अख्तिायरले ५० जनामाथि छानबिन गरेको थियो। तर, अख्तियारले छानबिनलाई सहयोग गरेको भन्दै २३ जनाविरुद्ध २०७१ चैत २० गते मुद्दा दर्ता गरे पनि बाँकी २७ जनालाई छाडेको थियो। २३ जनाविरुद्ध मुद्दा दायर भए पनि अख्तियारले बिहीबार तीनजनालाई मात्र दोषी ठहर गरेको हो। अख्तियारले पर्यटन बोर्डको विभिन्न तहमा रहेका कर्मचारीसहित पर्यटन व्यवसायी, सामान विक्रीकर्ता लगायतलाई छानबिनको दायरामा ल्याएको थियो।
मुद्दा १० शीर्षक
अख्तियारले पर्यटन बोर्डमा भएको भ्रष्टाचारलाई दशवटा शीर्षकमा मुद्दा दायर गरेको थियो। विशेष अदालत स्रोतका अनुसार अख्तियारले दायर गरेको मुद्दा १० शीर्षक यस्ता छन् ।
१. कार्यक्रम नै नगरी बिल पेश गरी रकम भुक्तान गरेको
२. सामान खरिद नगरी बिल मात्र तयार गरी रकम निकास गरेको
३. सवारी साधान भाडा नलिई, बिल बनाएर रकम हिनामिना गरको
४. विदेशी पाहुनालाई खुवाउन मदिरा खरिद गर्दा हिनामिना गरको
५. अन्तर्राष्ट्रिय मेलाको नाउमा कार्यक्रम नै नगरी रकम निकासा गरी घोटाला गरेको
६. पर्यटन बोर्डको स्रोत साधन व्यक्तिगत कार्यमा खर्च गरेको
७. बैंकबाट जथाभावी रकम निकालेर हिनामिना गरेको
८. नक्कली हवाई टिकट पेश गरी मिलेमतोमा रकम लिएको
९. कार्यालय सहयोगलाई जथाभावी चेकमार्फत रकम दिएर हिनामिना गरेको
१०. पर्यटन बोर्डको विनियमवाली संशोधन गर्दा आर्थिक चलखेल गरी भ्रष्टाचार गरको
को को थिए मुद्दाका प्रतिवादी
तत्कालीन कामु कार्यकारी प्रमुख, सुवास निरौला
पूर्व कार्यकारी प्रमुख, प्रचण्डमान श्रेष्ठ
सचिवहरु
शरदचन्द्र पौडेल
रञ्जनकृष्ण अर्याल
शुसिल घिमिरे
मेघबहादुर पाण्डे
सहसचिव, डिल्लीप्रसाद शिवाकोटी,
वरिष्ठ निर्देशक, आदित्यमान बराल
वरिष्ठ निर्देशक, नन्दिनीलाहे थापा
महाप्रबन्धक, रतिशचन्द्र लाल सुमन
प्रबन्धक, लीलाबहादुर
निर्देशक, हिक्मतसिंह ऐर
निर्देशक, काशीराज
निमित्ति निर्देशक, अनिलकुमार दास
प्रबन्धक, धुव्र राई
लक्ष्मण गौतम
दिवाकर विक्रम राणा
सम्बन्धित समाचार