काठमाडौं – चलचित्र शत्रु गतेको टिमले चलचित्रमा समावेश गीत रुपै मोहनीलाई दर्शकले मनपराएको खुशीयाली र कलाकार पल शाहको जन्मदिन मनाएको छ ।

गएको डिसेम्बर २९ मा युट्युब मार्फत सार्वजनिक गरिएको गीतलाई फेब्रुअरी २२ सम्ममा एक करोड भन्दा बढी पटक दर्शकले हेरेका छन् ।

गीतको भ्युज एक करोड भन्दा बढी भएको खुशियालीमा निर्माण पक्षले केक काटेको छ । फिल्ममा अभिभावक तथा निर्माता मह सञ्चारका म अर्थात मदनकृष्ण श्रेष्ठ र ह अर्थात हरिवंश आचार्यको उपस्थितिमा फिल्म युनिटले केक काटेको थियो ।

टिमले दर्शक तथा श्रोतालाई धन्यवाद दिदै करोड भ्युअर्स पुगेको उपलक्ष्यमा केक काटेका थिए । उक्त अवसरमा फिल्मका कलाकारहरु दीपक राज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, पल शाह, आँचल शर्मासँगै प्रस्तुतकर्ता किरण केसी र निर्देशक प्रदीप भट्टराई पनि उपस्थित थिए ।

सोही अवसरमा पल शाहको पनि जन्मदिन पनि मनाइएको थियो । निर्माण पक्षले दिर्घायु तथा सफलताको कामना गरेको थियो ।

‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् । स्वर मिना निरौला पोखरेल र टंक बुढाथोकीको छ । चलचित्र शत्रु गते चैत ९ गते रिलिज हुनेछ ।

फाल्गुन ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्