तेह्रथुममा हरेक घन्टा बिरालो कराउने पार्क

म्याङलुङ बजारमा निर्माण गरिएको बिरालोको सालिक। तस्बिर: देशसञ्चार

विराटनगर- प्रदेश नम्वर एकका प्रमुख प्रा.डा.गोविन्द तुम्वाहाङ्गले विकास र समृद्धिका लागि आफूले समन्वयनकारी भूमिका खेल्ने बताएका छन्।

तेह्रथुम सदरमुकाम म्याङलुङ्गमा किरात याक्थुङ्ग चुम्लुङ्गको आठौँ जिल्ला अधिवेशन तथा मेयङलुङ स्तम्भको उद्घाटन कार्यक्रममा शुक्रबार प्रमुख तुम्वाहाङ्गले आर्थिक रुपमा प्रशस्त सम्भावना बोकेको प्रदेश नम्बर एकलाई नमूना प्रदेश बनाउन सकिने र त्यसमा आफ्नो भूमिका समन्वयकारी रहने बताएका हुन्।

उनले भने, ‘प्रदेशमा खोलानाला, पर्यटीकयस्थल, धार्मिकस्थल, वन, कलकारखाना भएकाले यसको संरक्षण, सही सदुपयोग र पहिचान गरी आर्थिक लाभ लिन सक्नुपर्ने छ।’

त्यसैगरी, कार्यक्रममा चुम्लुङ्गका केन्द्रीय अध्यक्ष उत्तमसिंह थाम्देनले किरात याक्थुङ्ग चुम्लुङ्गले लिम्बू जातीको भाषा, लिपि, संस्कृतिको लागि सदैव लागि पर्नेमा जोड दिए। म्याङलुङ्गको ऐतिहासिक पहिचान लिम्वु भाषामा मेयङ्को अर्थ विरालो र लुङ्गको अर्थ ढुङ्गा रहेको निर्माण समितिका सचिव तथा किरात याक्थुङ् चुम्लुङ्गका सचिव तेजमान कान्दङ्गवाले जानकारी दिए।

स्तम्भमा प्रत्येक घण्टाको अन्तरालमा बिरालो कराउने प्रविधि जडान गरि पार्क समेत निर्माण गरिएको छ।

म्याङलुङ्ग नगरपालिकाको नामांकनसँगै जोडिएको सो स्तम्भ सम्पन्न गर्न २५ लाख बढी रुपैया लागेको निर्माण समितिले सो कार्यक्रममा जानकारी दिएको छ। स्तम्भ निर्माणका लागि म्याङलुङ्ग नगरपालिका, किरात याक्थुङ चुम्लुङ्ग र चन्दादाताबाट आर्थिक संकलन गरिरहेको सचिव कन्दङ्गवाले बताए।

आदिमकालमा नागदहमा बटुवाले खाना पकाउन प्रयोग गरेको ढुङ्गामा कम्पन हुन थालेको र सो क्रम नरोकिएपछि रिसाउँदै खुकुरी प्रहार गर्दा विरालोमा परिणत भई कराएकोले किरात राजाले त्यही ढुङ्गाको पुजा गर्दै आएको मन्दिर नै म्याङलुङ भगवती मन्दिर भएको बताइन्छ।

प्रा.डा.गोविन्द तुम्वाहाङ्ग म्याङलुङ बजारमा। तस्बिर: देशसञ्चार
फाल्गुन ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्