चारआली केचना सडक नजिकका बासिन्दा भन्छन्-हामीलाई धुलोले छोप्यो

भद्रपुर- झापाको भद्रपुर बजार दक्षिण चारआली केचना सडक नजिकका बासिन्दाका घर बर्षौंदेखि धुलोले सेताम्मे छन्। घर बाहिर मात्र होइन, उनीहरुको भान्सा कोठा,सुत्ने कोठासम्म धुलाम्मे छन्। बर्षौंदेखि धुलो खाएर बसिरहेका उनीहरु अहिले लगातार विरामीसमेत पर्न थालेका छन्। त्यस क्षेत्रका बृद्धबृद्धा र बाल बालिकामा श्वास प्रश्वास तथा एलर्जीका रोग बढेको मेची अञ्चल अस्पतालले जनाएको छ।

भद्रपुर ४ का ७१ बर्षिय निलमणि भट्टराईले २०२८ सालमा मेची राजमार्गको चारआली केचना सडक छेउमा घर बनाएर बसोबास गरे। त्यसबेलादेखि उनी लगातार सडकको धुलो खाएर बसिरहेका छन्। जस्का कारण अहिले आएर महिनामा कम्तीमा चारपटकसम्म चिकित्सककहाँ पुग्नुपर्ने उनको बाध्यता छ।

उनले भने, ‘घरको सबै कोठामा धुलो छ। कति पुछ्ने? खानामा समेत धुलो खानु परेको छ। विरामी भएर डाक्टरकहाँ धेरै पटक जानुपर्छ। धुलोले सबै छोप्यो।’

उक्त सडकमा सवारी साधन अत्याधिक गुड्छन्। तर असामान्य तरिकाले बर्षौंदेखि उड्ने धुलोबाट भद्रपुर बजार दक्षिणका बासिन्दा आक्रान्त छन्। बालबालिका बृद्ध बृद्धा घर बाहिर निस्कन सक्दैनन्। घर भित्रै रहने गरेकाहरु पनि घर भित्र पसेको धुलोका कारण बारम्बार विरामी हुने गरेका छन्। भद्रपुर ३ ज्ञाने चोककी लक्ष्मी रम्तेलले भनिन्, ‘केटाकेटी बाहिर निस्कने अवस्था छैन। विरामी परेका छन्। ठूलै मान्छेलाई त महिनामा चार पटक सम्म अस्पताल जानुपरिरहेको छ।’

भद्रपुरस्थित मेची अञ्चल अस्पतालका फिजिसियन डा. पिताम्बर ठाकुर भन्छन् धुलोका कारण अधिकांश बृद्ध बृद्धा तथा बालबालिका स्वासप्रश्वास तथा एलर्जीको विरामी लिएर अस्पताल आउने गरेका छन्।

ठाकुरले भने, ‘अहिले धुलोका कारण धेरै बृद्धबृद्धा तथा बालबालिका घाँटी, श्वासप्रश्वासको समस्या लिएर मेची अञ्चल अस्पताल आउने गरेका छन्।’

धेरै बर्ष भयो उक्त सडक कालो पत्रे हुने भनेको। तर अहिलेसम्म कालोपत्रे त के धुलो मात्र पाएको यहाँका सर्वसाधारणले दुःखेसो गरेका छन्। दिनहुँ धुलो खाएका सर्वसाधारण कोही बेला सडक अवरुद्ध गर्न निस्कन्छन्। कोही बेला जिल्ला प्रशासन कार्यालय जान्छन् दुःखेसो राख्न। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले धुलो नियन्त्रण गर्नका लागि आफू लागि परेको बताए।

यस अघि पनि सांसद, स्थानीय तह, सडक डिभिजन कार्यालय गुहारेका यहाँका सर्वसाधारण भन्छन् अब त गुनासो राख्न जाने ठाउँ पनि छैन।

फाल्गुन १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्